बजार

त्यहाँ बजार लागेको छ । किनबेच गर्नेहरुको मोलमोलाइ र घुइँचो निकै छ ।
नेता, वकील, पत्रकार, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, लेखक, कलाकार, किसान, ज्यामी, कर्मचारी , व्यवसायी सबै वर्ग र तहका मान्छेहरु आफ्नो श्रम र सीपको बेचबिखन र खरीद–बिक्री गरिरहेका छन् ।

त्यही बजारमा एउटी तरुनी पनि आई । उसले केही फूलहरु ल्याएकी थिई तर ती फूलहरु साँझसम्म पनि बिकेनन् , फूलहरु ऋोइलाउन थाले । काम नलाग्ने भयो । मान्छेहरु शायद फूल होइन , उसको यौवन किन्न लालायित थिए ।

अन्तमा उसले ती ओइलाएका फूलहरु एउटा कुनामा फ्याली र आफैलाई बेच्ने उद्घोष गरी ।
यो सुन्नु के थियो त्यहाँ भीड लागिहाल्यो । तर साथसाथै अर्को छेउबाट त्यसको विरोध पनि हुन थाल्यो । यसबाट अब समाज भाँडिने भो, यो ठीक भएन, यसलाई रोक्नु पर्छ भन्दै नैतिकता र आदर्शको ढ्वाङ्ग फुक्न थालियो ।

त्यसपछि मखुण्डो लाएका मान्छेहरु लुकिलुकि उसकहाँ पुग्न थाले र बाहिर आएपछि मखुण्डो फुकाल्दै समाजको अगाडि त्यसको घोर विरोध पनि गर्न थाले ।