कोरोना कहरबीच दोलखामा भैरबकुमारी जात्रा सुरु


शब्द / तस्विर : शम्भु गौतम
दोलखा, साउन २१: कोरोना भाइरस महामारीको सन्त्रासबीच ऐतिहासिक तथा पौराणिक नगरी दोलखामा परम्परागत रुपमा चल्दै आएको भैरब कुमारीको जात्रा आज रातीबाट सुरु हुँदैछ ।
परम्परागत बाजागाजाको तालमा भैरब र कुमारीसहितको समुह युद्धको शैलीमा नाच्ने रोचक जात्रा आजदेखि सुरु हुन थालेका हो । यो जात्रा हरेक वर्ष गाइजात्राको भोलिपल्टबाट सुरु हुने गर्दछ ।
गाईजात्राको भोलिपल्ट अर्थात भाद्र कृष्ण द्वितीयादेखि षष्टीको दिनसम्म रातभर लाग्ने गर्दछ । यो जात्राको क्रममा ब्रत बस्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । विभिन्न मनोकाङ्क्षाका साथ दोलखा सहरका ब्रतालु नारीहरुले राती पुजापाठ गरेपछि सुरु हुने नाचमा भैरब र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरुको भीडले जात्रास्थल खचाखच हुने गर्दछ । पा“चसय वर्ष पुरानो मानिने यो जात्रा दोलखा बजारबाहेक देशको अन्य ठाउ“मा नदेखाइने दावी स्थानीय समाजसेवी भरतनारायण प्रधानको छ ।
उनका अनुसार द्वापर युगमा दोलखा बजारको टोलटोलमा कुमारीले दुःख दिन थालेपछि उनीहरुलाई शान्त पार्दै मानवमाथि कल्याण होस् भनेर यो जात्रा प्रारम्भ गरिएको हो । तान्त्रिक विधि गरेर सुरु गरिने जात्रा निकाल्नुपूर्व ब्रत बस्ने महिलाहरु दिनभर निराहार ब्रत बसी टासिचाटोलको गुठीघरमा भेला हुन्छन् । सा“झ परेपछि बुढी आमा, भैरब, कुमारी लगायत सेनामेनाहरु सिँगारेर लहरै बस्छन् । पुजाको विधि सकिएपछि सिँगारिएर बसेका मकुण्डोधारी र अन्यलाई दर्शन गरी दक्षिणा चढाएपछि ब्रतालुहरुले खाना खाने चलन छ ।
भैरब र कुमारी विभिन्न सेनामेनासहित भै युद्धको शैलीमा दोलखाको विभिन्न टोलहरुमा पाँच दिनसम्म परिक्रमा गर्ने प्रचलन छ ।
कोरोना कहरबिच सुरक्षा सतर्कताका साथ परम्परागत रुपले चल्दैआएको भैरबकुमारीको जात्रा निकाल्न लागेको भीमेश्वर नगरपालिका २ का अध्यक्ष विराज श्रेष्ठले जानकारी दिए । कोरोना महामारीको कारण यस वर्षको मच्छिन्द्रनाथको रथयात्रा भने स्थगित भएको थियो ।