दोलखाको गौरीशंकरमा पहिरोले एकको ज्यान गयो, २१ घर विस्थापित

दोलखा, साउन २३÷भीषण वर्षाका कारण दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका ८, खारेस्थित बगुवा खोलामा आएको बाढीले एकजनाको ज्यान गएको छ भने ५ घर पूर्ण रुपमा क्षति भएको छ ।
बाढीका कारण दोलखा कालिन्चोक गाउँपालिका ८ सुनखानीका करिब ३० वर्षीय सुरेश शिवाकोटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । उनी ग्रिलको काम गर्ने सिलसिलामा त्यहाँ गएका थिए । ठाडो खोलाबाट आएको बाढीबाट जोगिएर भाग्ने क्रममा ठुलो ढु्ङ्गाले किचेर उनको मृत्यु भएको स्थानीय सरस्वती बुढाथोकीले बताइन् ।

राती करिब साँढे ८ बजेतिर आएको बाढीले स्थानीय खजेन्द्र बुढाथोकीको घरको नामनिशानै राखेन । आफूहरु अर्को घरमा सुत्न आएको बेला आएको बाढीले घर बगाएर तामाकोशीमा मिसाएको उनले बताए । ‘हामी भर्खरै बनाउँदै गरेको घरमा सुत्न आएका थियौँ, राती बाढी आएको बेला हेर्न जानै सकिएन, बिहान हेर्दा घरकौ नामनिशानै रहेनछ ।’ खजेन्द्रले भने ।

स्थानीय रामबहादुर तामाङ र एउटा सामुदायिक भवन पुरिएको छ भने अर्का रामबहादुर तामाङ र लक्ष्मण बुढाथोकीको घर पूर्ण रुपमा क्षति भएको छ । त्यसैगरी गणेश कुँवर, भरत आचार्य, दीपक आचार्य, कृष्णकुमारी आचार्य, सोमबहादुर तामाङ, जितबहादुर तामाङ र भदु तामाङको घर बस्न नमिल्ने गरी क्षति भएको छ ।

बाढीले चौपाया र कुखुरा बगाएको र क्षति भएको धनमालको विवरण लिने काम भैरहेको इलाका प्रहरी कार्यालय सिँगटीका प्रहरी निरीक्षक सुन्जित तामाङले जानकारी दिए ।
पीडितहरुलाई नेपाल रेडक्रस सोसाइटी, दोलखा शाखाले तत्कालीन राहत सामग्री वितरण गरेको छ ।

जिल्ला समन्वय प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा लगायतको स्थानीय प्रशासनको टोलीले पहिरोको निरीक्षण गरेका थिए ।
बाढीका कारण राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजना जाने सडक समेत अवरुद्ध भएको छ ।

त्यसैगरी गौरीशंकर गाउँपालिकाकै वडा नं ५ मा पनि बाढीले ९ घरमा क्षति पु¥याएको छ । गौरीशंकर ५, गुरुम्फीका १० घरमा क्षति पुग्दा ३७ जना विस्थापित भएको दोलखा प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी गौरीशंकर गाउँपालिकामा सञ्चालित सिप्रिङ खोला जलविद्युत आयोजना, निर्माणाधीन घट्टेखोला, तल्लो खारेखोला, युनिभर्सल हाइड्रोपावरमा पनि क्षति पु¥याएको छ ।