खिया
हतियार बोक्न थालेदेखि उभित्र विस्तारै बल पनि थपिए जस्तो लाग्यो । अब उसलाई कसैदेखि पनि डर लाग्न छोड्यो । बरु बाटोमा भेटिएका जोकोहीलाई पनि धकेल्दै हिंडूँ जस्तो बल अटेसमटेस पो हुन थाल्यो । पहिला मुसो मात्र देख्दा पनि तर्सेर हिंड्ने ऊ , अब त सामुन्ने बाघै भेटिए पनि आफूसित भएको हतियारले एकै प्रहारले भुक्लुक्क हुनेगरी ढालिदिऊँ जस्तो लाग्न थाल्यो ।
अब बाटोमा उसलाई देख्नेजति मान्छेहरु टाउको निहु¥याउँदै हिंड्न थाले , उसको छाया मात्र देख्दा पनि परैदेखि बाटो छोडेर हिंड्ने गर्न थाले ।
हतियार साथमा हुने भएकाले पनि अब मान्छेहरु उसको अगाडि पर्नबाट सकभर बच्न थाले ।
००
उसलाई थाहा भइसक्यो यो सबै हतियारकै चमत्कार हो । हतियार बोक्न थालेदेखि उसलाई सबले सम्मानपूर्वक व्यवहार गर्ने, उसले भनेका कुराहरुमा सहमत हुने गर्न थालेका थिए ।
अब उसले हतियारलाई विशेष ध्यान दिन थाल्यो । हतियार बिग्रला, हराउला, खिया लाग्ला , अरुले थुतेर लेला अथवा कहीँ छुट्ला भनेर ऊ दिनरात त्यसैमा दत्तचित्त हुन थाल्यो ।
उसले आफूलाई भन्दा हतियारमा बढी ध्यान थाल्यो । बिहान सबेरै उठ्नासाथ हतियारको सरसफाइ गर्छ । कहीँ धूलोसुलो परेको छ कि अथवा खिया पो लागेको छ कि भनेर हेर्छ । अनि त्यसको धार तिखारेर टलक्क टल्काउँछ त्यसपछि कसेर समात्दै घुम्न थाल्छ ।
००
धेरै वर्षसम्म उसले यसप्रकार बडो ध्यानपूर्वक हतियार बोक्दै हिंड्यो ।
हतियार बोकेर बाटोमा हिंडिरहेको बेला एकदिन उसलाई कसैले धक्का दियो । अनि उसको हातमा भएको हतियार थुतेर लियो । त्यसबेला उसले केही गर्न सकेन ।
उसको मेहनतले हतियारमा खिया त लागेन तर हतियारको नाममा ऊ स्वयं भने खिया लागिसकेको थियो ।