रोशी खोलाको प्राचीन मूर्ति धुलीखेलको बतासे डाँडा हुँदै नगरपालिका पुग्यो

रोशी खोलाको भालेश्वर मन्दिर नजीकै रहेको ढुंगाखानीबाट एक जना ट्रिपर चालकले ढुंगा सँगै लोड गरेर ल्याएको प्राचीन मूर्ति धुलीखेलको बतासे डाँडा हुँदै अहिले नगरपालिका पुगेको छ ।

निकुञ्ज पर्वत, प्राचीन भालेश्वर मन्दिर नजीकै रोशी खोलाको सेरोफेरोमा प्राचीन मूर्ति भेटिएको हो । यो मूर्ति हेर्दा विक्रमको तेस्रो-चारौँ शताब्दीको भएको मूर्तिकलाविद्हरुले बताएका छन् ।

यस मूर्ति शिरको पृष्ठभूमिमा रहेको सूर्यमण्डल टुक्रिसकेको छ । लाम्चा दुवै कानमा लाम्चा कुण्डल (लम्ब आयातकारको तल्लो भागभित्र मोटो गोलाकार चक्की राखिएको) लगाइएका छन् । गलामा दुईटा माला छन्–
१. गला आकारमा गलाको बीचमा गोलो धातुजन्य वस्तु (सुन-चाँदीको आभूषण-जन्तर) मोतीका दानायुक्त माला,
२. नाभी र वक्षस्थलको बीचसम्म पुगेको मालाको तल्लो भागमा अहिलेको तिलहरी आकारकै जस्तो वस्तु राखिएको ।
काँधदेखि हातसम्म दाहिने हात टुटेको छ । तल्लो भाग लगाइने वस्त्र (धोती) कम्मरमा बेरिएर नाभीस्थलमा मुजारिएको छ । कम्मरसम्म पुगेको बायाँँ हातमा मास्तिर फर्किएको डल्लो वस्तु छ । प्रस्तरको वर्ण उज्यालो छ । नेपाल उपत्यकामा भएका मूर्तिहरूको अध्ययन गर्दा यो प्रतिमा विक्रमको तेस्रो-चारौँ शताब्दीको जस्तो देखिन्छ।

प्राप्त प्रतिमा प्राचीन महत्वको भएकोले सुरक्षाको कारण देखाई स्थानीयको पहलमा प्राप्त मूर्तिलाई बतासे डाँडाबाट झिकेर धुलीखेल नगरपालिका कार्यालयमा राखिएको छ ।

प्राप्त देवीको मूर्ति रोशी भालेश्वर मन्दिर नजीकैको रोशी खोला क्षेत्रमा रहेको ढुंगाखानीबाट एक जना ट्रिपर चालकले ढुंगा लोड ट्रिपरसँगै ल्याएको मूर्ति धुलीखेलको बतासे डाँडास्थित वनदेवी थाननिर प्रतिस्थापन गरिएको थियो ।

मूर्ति प्राप्त स्थलको खोजी कार्य तथा संरक्षण कार्यकाका लागि धुलीखेलका स्थानीयहरुले पुरातत्व विभाग, धुलीखेल नगरपालिका, पनौती नगरपालिकाको ध्यानाकर्षण गराइसकिएको जानकारी नेपाली पुराविद्याका अध्येता मनिष योगलले बताएका छन् ।

तस्विर : मनिष योग