साहित्यकार बसन्ती शाही सहित ११ श्रष्टाहरु विभिन्न पुरस्कारद्वारा सम्मानित

जनकबहादुर शाही
हुम्ला, अशोज–८ ।
श्रष्टा सम्मान अभियान अन्तर्गत मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित विभिन्न पुरस्कारहरुद्वारा साहित्यकार बसन्ती शाही सहित ११ जना श्रष्टाहरुलाई सम्मान गरिने भएको छ । मानव अधिकार तथा शान्ति समाजद्वारा प्रदान गरिने भूमिप्रसाद बराल श्रष्टा राष्ट्रिय सम्मानले स्नोल्याण्ड एकिकृत बिकास केन्द्र हुम्लाका अध्यक्ष, सामुदायिक रेडियो कैलाश एफ एमका प्रबन्धक निर्देशक समेत रहनु भएकी चर्चित लेखक तथा साहित्यकार बसन्ती शाही सम्मानीत हुनु भएको छ ।
यस गरी वर्ष २०७७ सालको कृष्णकुमारी दाहाल शान्ति श्रष्टा सम्मान अशेष मल्ललाई, पवित्रादेवी चौलागाई मानव अधिकार श्रष्टा सम्मान आहुति (विश्वभक्त दुलाल)लाई, राधादेवी दाहाल सद्भाव श्रष्टा सम्मान नीलम कार्की निहारिकालाई, चन्द्रकला खनाल अहिंसा श्रष्टा सम्मान व्याकुल माइला (प्रदिपकुमार राई) लाई, ज्ञानप्रसाद खनाल सहिष्णुता श्रष्टा सम्मान प्रमोद प्रधानलाई र महाप्रसाद रिजाल लोकतन्त्र श्रष्टा सम्मान गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरिएको छ । यसैगरी जोगमाया बराल श्रष्टा सौगात ज्ञानुवाकर पौडेललाई, राधादेवी दाहाल श्रष्टा सौगात श्रेष्ठ प्रिया पत्थरलाई, भुमीप्रसाद बराल श्रष्टा सौगात वसन्ती शाहीलाई, श्रीप्रसाद दाहाल श्रष्टा सौगात बालिका चौधरीलाई, श्रीनारायण दाहाल श्रष्टा सौगात रेणु गुप्तालाई प्रदान गर्ने निर्णय गरिएको छ । पुरस्कृत श्रष्टाहरु ५ जना महिला श्रष्टासहित ७ वटै प्रदेशका हुनुहुन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिका दिन विशेष कार्यक्रम आयोजना गरि जनही रु. २० हजार पुरस्कार राशी सहित पुरस्कृत श्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । मानव अधिकार तथा शान्ति समाज श्रोतले जनाएको छ ।
यि सम्मान मानव अधिकार तथा शान्ति समाजले एक दशक अगाडिदेखी मासिक शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको साहित्यको आराधन र श्रष्टा सम्मानलाई अभियानको रुपमा अघि हो । २०२५ वैशाख १५ गते बझाङमा जन्मिनु भएकी खर्पुनाथ गाउँपालिका ५ हुम्लाकी श्रष्टा वसन्ती कुमारी शाहीले कर्णालीकी बुहारी निबन्ध संग्रह, आधा जीवन उपन्यास गरी दुई पुस्तक र दर्जनौ लेख रचनाहरु प्रकाशित गर्नु भएको छ । हुम्ला जस्तो बिकट जिल्लामा रहेर पनि साहित्य क्षेत्रमा योगदानका पुर्याएको भन्दै मानव अधिकार तथा शान्ति समाजले साहित्यकार शाहीलाईसम्मान गरेको हो ।
