आइस्पानको अध्यक्षमा पराजुली

इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) को अध्यक्ष पदमा सुधिर पराजुली निर्विरोध चयन हुनुभएको छ । इन्टरनेट सेवा प्रदायकको छाता सङ्गठनको रुपमा रहेको सङ्घको आगामी दुई वर्षे कार्यकालका लागि सबै पदाधिकारी निर्विरोध विर्चाचित भएका हुन् । सङ्घको उपाध्यक्षमा क्लासिक टेकका प्रमेश खरेल, महासचिवमा एरो नेटका नबिन श्रेष्ठ, सचिवमा टेकमाइन्ड्सका कमल बस्तोला, कोषाध्यक्षमा इस्ट लिंकका पुष्कर बडाल चयन हुनुभएको छ ।

यसैगरी सङ्घको वरिष्ठ सल्लाहकारमा वल्डलिंकका विजय जलान, भायनेटका विनय बोहरा , सुविसुका विनयमोहन साउद तथा सदस्यमा ब्रोडलिंकका विनोद तिमिल्सेना र वेबसर्फरका सुरेन क्षेत्री चयन हुनुभएको सङ्घले जनाएको छ । बुधबार भर्जुअल बैंठक गरी नौ जनाको नयाँ कार्यसमिति चयन गरिएको थियो । उक्त बैंठकमा सङ्घका निवर्तमान अध्यक्ष एवम् नेटम्याक्सका अध्यक्ष भोजराज भट्टले नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । – रासस