नेपालमा कोरोना संक्रमित २,००,००० नजिक
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख नजिक पुगेको छ।
दशैंयता दैनिक परीक्षण घट्दा संक्रमितको संख्या कम देखिएपनि संक्रमण कम भएको छैन। संक्रमण दर दशैं अघिको जस्तै रहेको विज्ञहरुले बताएका छन्।
संक्रमित थपिँदै गएसँगै गम्भीर बिरामी पनि बढ्न थालेका छन्। आईसीयू र भेन्टिलेटरको सहायता चाहिने संक्रमितको संख्या क्रमशः बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बिहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार सात सय ६० पुगेको छ। योसँगै नेपालमा संक्रमण फैलिएका संसारका दुई सय १९ देश तथा भौगोलिक क्षेत्रको सूचिमा ३४ नम्बरमा पुगेको छ।
दक्षिण एसियामा नेपालमाभन्दा अघि भारत, बंगलादेश र पाकिस्तान मात्रै छन्। भारतमा ८६ लाख ३६ हजार पुगेका छन भने बंगलादेशमा चार लाख २३ हजार र पाकिस्तानमा तीन लाख ४८ हजार रहेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोनाबाट एक हजार एक सय ४८ जनाको मृत्यु भएको छ। दैनिक मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ।
अहिलेसम्म एक लाख ६० हजार पाँच सय ७७ जना निको भएका छन्। सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ।
संक्रमितमध्ये पनि धेरैजसो होम आइसोलेसनमा बसेका छन्। सरकारी अस्पतालमा आइसोलेसन बेड पाउन छोडेपछि होम आइसोलेसनमा बस्नेको संख्या बढ्न थालेको हो। – काठमाडौँ प्रेस

