दोलखा भीमेश्वरलाई पसिना ! (फोटो फिचर)



शब्द/ तस्विर : शम्भु गौतम

दोलखा, मंसिर ९ : प्रसिद्ध दोलखा भीमेश्वरलाई आज दिउँसो दुई घण्टाभन्दा बढी समयसम्म पसिना आएको छ । पसिना आएको खबरपछि स्थानीय बासिन्दा र स्थानीय प्रशासनका प्रमुखहरुसमेतले पूजाअर्चना गरेका छन् ।
भविष्यद्रष्टाको रुपमा चिनिने प्रसिद्ध दोलखा भीमेश्वरलाई आज दिउँसो १ः४३ बजेदेखि ३ः५४ बजेसम्म पटकपटक रोकिँदै पसिना आएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिए । विश्वव्यापी कोरोना महामारीका कारण नेपाल सरकारले शक्तिपीठहरुमा भक्तजनहरुलाई दर्शन गर्न रोक लगाएको बेला दोलखा भीमेश्वरलाई पसिना आएको हो । दिउँसो राजपूजाको लागि तयारी गर्ने क्रममा टहलुवा काशीनारायण श्रेष्ठले पसिना आएको देखेका थिए । भक्तजनहरुलाई दर्शनमा रोक भए पनि नियमित पूजा भने निरन्तर छ । भीमेश्वरको पूजा बिहान ५ बजेअघि आरम्भ, ९ बजे रुद्री, मध्यान्ह १२ बजे छक्काल (मध्यान्ह), दिउँसो २ बजे राजपूजा र साँझ ६ बजे सन्ध्या आरती पूजा गरिन्छ ।


भीमेश्वरको शिलामा पसिना आएपछि मन्दिरका सबै घण्टा, नगरा बजाएर पसिना आएको जानकारी स्थानीयलाई दिइएको थियो । मन्दिरका पुजारी र गुठियारहरुले शिलालाई चमरले हम्किए, डमरु बजाए, बाजागाजा बजाए र भीमेश्वरलाई कष्ट नहोस् भन्ने कामना गरे ।




मन्दिरमा दर्शनको लागि बन्द गरिएको भए पनि पसिना आएको खबरपछि दोलखा सहरका स्थानीयवासी र सदरमुकाम चरिकोटबाट गएका भक्तजनहरुको मन्दिर बाहिर घुइँचो लागेको थियो ।


भीमेश्वरको शिलामा पसिना आएपछि दीक्षा प्राप्त गरेको व्यक्तिले विधिपूर्वक पूजाआजा गरी पसिना कपासले पुछ्नुपर्ने प्रचलन छ । प्रचलनअनुसार विधिपूर्वक पूजा गरी पुछिएको कपास मन्दिरमा आएका भक्तजनहरुलाई बाँडिएको थियो ।


भीमेश्वरलाई पसिना आउँदा गाढा कालो रङको शिला फुस्रो रङमा परिणत हुन्छ । शिलामा पसिनाको मसिना दाना देखिन्छ । विस्तारै पसिनाको मसिना दाना ठुलो हुँदै जान्छ, ती पसिनाका दानाहरु एकापसमा जोडिन्छन् र बग्न थाल्दछ ।


भीमेश्वरको शिलामा आएको पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउनुपर्ने प्रावधान छ । यसरी राष्ट्रपति कार्यालयमा प्रसादको रुपमा कपास पठाएपछि त्यहाँबाट क्षमापूजा पठाइने प्रचलन छ । विधिपूर्वक सो क्षमापूजा गरेपछि संकट टर्ने जनविश्वास छ । राष्ट्रपति कार्यालयमा भोलि प्रसाद पठाउने तयारी भएको भीमेश्वर मन्दिर गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । नेपालमा गणतन्त्र स्थापना हुनुपूर्व भने राजदरवारमा सो प्रसाद पठाउने प्रचलन थियो ।




भीमेश्वरको शिलालाई पसिना आउदा हरेक पटक मुलुकमा कुनै न कुनै ठुलो तथा राष्ट्रिय घटना भएको दावी स्थानीय वयोबृद्धहरुको छ । भीमेश्वरलाई आउने पसिना राष्ट्रमा हुने परिवर्तनकारी घटनाको पूर्वसंकेत भएको मानिन्छ ।


भीमेश्वरको शिलालाई १९९० सालमा पसिना आउँदा महाभूकम्प गएको, १९९७ सालमा पसिना आउँदा राणा सरकारले चार जनालाई फाँसी दिएको, २००७ सालमा पसिना आउँदा राणा शासनको अन्त्य भएको, २०११ सालमा पसिना आउँदा तत्कालीन राजा त्रिभुवनको मृत्यु भएको, २०१८ सालमा पसिना आउँदा देशमा ठूलो बाढीपहिरो आएको स्थानीय स्मरण गर्दछन् । त्यसैगरी २०२८ सालमा पसिना आउँदा राजा महेन्द्रको मृत्यु भएको, २०३५ सालमा पसिना आउँदा जनमत संग्रह भएको, २०४५ साल चैत्रमा पसिना आउँदा भूकम्प गएको, २०५७ साल माघ १ र १५ गते पसिना आउँदा २०५८ सालमा दरवार हत्या काण्ड भएको पनि उनीहरु सम्झिन्छन् । त्यस्तै २०६१ फागुनमा पसिना आउँदा २०६२ सालमा जन आन्दोलन भएको र २०६४ साल जेष्ठ ५ गते पसिना आउँदा राजतन्त्रको अन्त्य भएको उनीहरु बताउँछन् । त्यसैगरी पछिल्लोपटक २०७० साल मंसिर र फागुन १३ गते र २०७४ असोज १० गते पनि भीमेश्वरको शिलामा पसिना आएको थियो । यसअघि २०७६ फागुन ७ गते पनि भीमेश्वरलाई पसिना आएको थियो ।