सरकार धनको गरिब हो, मनको गरिब छैन : प्रधानमन्त्री ओली

काठमाडौं, मंसिर ११ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार धनको गरिब भएपनि मनको गरिब नभएको बताएका छन्। बालुवाटारमा बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सफलता नै सरकारको सफलता भएको बताएका हुन्। 

उनले सरकार धनको गरिब भए पनि सरकार मनको गरिब नभएको बताउँदै भने,  ‘उद्योगी व्यवसायी साथीहरुले कतिवटा देशले उद्योगको पुनरुत्थानका लागि सरकारले धेरै पैसा दियो नेपाल सरकारले किन दिएन ? भन्ने कुराहरु उठाएका छन्, यो सरकार मनको गरिब होइन, फाइनान्सियल अवस्था तपाईहरुलाई थाहा नै छ।’

निजी क्षेत्रको सफलता नै सरकारको सफलता भएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘पायोनियरका रुपमा निजी क्षेत्रले कामहरु सरकारले भन्दा राम्रो गरेको छ। नयाँ कारोबार क्षेत्र पत्ता लगाउने र त्यसलाई अघि बढाउने काम निजी क्षेत्रले गरेको छ।’

उद्योगीहरुलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले निजी क्षेत्रलाई सवल बनाउन ऐन, नियम बनाउने लगायतका सहयोगका कामहरु सरकारले गर्ने बताए। उनले सरकारसँग धेरै बचत नभएका कारण चाहेर पनि धेरै सहयोग गर्न नसकेको बताए।

कोरोनाका कारण देशको अर्थतन्त्र निकै नराम्रो अवस्थामा पुगेको र यसको पुनरुत्थानमा निजी क्षेत्रको भूमिा निकै महत्वपूर्ण हुने भन्दै उनले अन्य देशहरुले निजी क्षेत्रका लागि निकै आकर्षक राहत दिए पनि नेपाल सरकारले आर्थिक अवस्थाका कारण दिन नसकेको उनले स्वीकारेका छन्।

आजदेखि सुरु भएको नेपाल यद्योग वाणिज्य महासंघको साधारण सभा शनिबारसम्म चल्ने छ। यो साधारण सभाले महांघको नयाँ नेतृत्व चयन गर्ने छ।