सीमा
तपाइँलाई यो मानिसको कथा जस्तो लाग्नेछ । तर हो यो कुनै गधाको कथा ।
एउटा गधा छ – भर्खर गाउँबाट ल्याएको । एउटा मालिक पनि छ । शहरमा यस्तै हुने गर्छ । गधा हुन्छ र त्यसको मालिक पनि रहेको हुन्छ । मानिसको लागि गधा स्वास्नीभन्दा ठूलो सम्पत्ति हुन्छ ।
कारण !
आजको युगमा विरोध स्वास्नीबाट हुनसक्छ, गधाबाट होइन ।
उसले गधामाथि बाझ लाद्यो । यसबाहेक उसको अरु कामै के ! गधाले चुपचाप बोझ बोक्यो र ठाउँमा पु¥यायो ।
भोलिपल्ट पनि उसले गधामाथि बोझ लाद्यो अलि बढी । गधाले त्यो पनि बोक्यो ।
पर्सिपल्ट पनि उसले अघिल्लो दिनको दाँजोमा बोझको मात्रा अलि बढायो । गधाले चुपचाप बोक्यो ।
एवंरितले गधाले बोक्ने बोझ दिनप्रतिदिन बढ्दै गयो । मालिकको व्यापार फैलंदै गयो साथै ऊ झन्झन् धनी पनि हुँदै गयो ।
बोझको पो कुनै सीमा छैन । तर कुनै पनि प्राणीको क्षमताको त एउटा सीमा हुन्छ ।
तर मालिक भने निश्चिन्त देखिन्थ्यो ।
यसरी गधाले जीवनका अनगिन्ती वर्षहरु कसैको गधा भएर बाँच्यो ।
एकदिन के भयो कुन्नि गधाले बोझ बोक्न अस्वीकार ग¥यो ।
के तपाईँलाई अझै यो गधाको कथा जस्तो लाग्छ ?
००