काठमाडौंको तापक्रम २.३ डिग्री सेल्सियस

काठमाडौं, पुस २ : काठमाडौं उपत्यकामा आज यो वर्षको धेरै  जाडो भएको छ । पुस लागेसँगै देशभर चिसो ह्वात्तै बढेको छ भने उच्च हिमाली जिल्लाहरुमा तापक्रम माइनसमा झरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान साढे ६ बजेको मापन अनुसार काठमाडौँ उपत्यकाको तापक्रम २.३ डिग्री सेल्सियसमा झरेको हो । यसअघि बुधबार उपत्यकाको २ दशमलव ८ डिग्री रहेको थियो ।

केही दिन यता काठमाडौँ उपत्यकाको तापक्रम नियमित घट्दै जाँदा चिसो अत्याधिक बढेको छ । जुम्ला, जिरी, जोमसोम लगायतका ठाउँमा तापक्रम माइनसमा झरेको छ ।

यस्तै आज बिहानैदेखि तराई अधिकांश भू-भाग तथा पहाडका केही भागमा बाक्लो हुस्सु र कुहिरो लागेको महाशाखाले जनाएको छ । तराईमा दिउँसोसम्म नै हुस्सु लाग्ने र घाम लाग्ने सम्भावना कम रहेको मौसमविदले जनाएका छन् ।