अन्तर्छाया

ऊ कस्तो छ । उसले अरुको आँखाबाट हेरेको छैन । आफ्नै आँखाबाट पनि राम्री हेर्न सकेको छैन । जेहोस् घरभित्र र अति निकटतम – सब उसको तारिफ र प्रशंसा गर्छन् ।

एकदिन यही थाहा पाउने अभिप्रायले ऊ बाहिर निस्क्यो । अलिकति नजिकसम्म त आँखाहरु राम्रै भेटियो । ऊ मक्ख पर्दै गयो । यही धुनमा अलि टाढा पुग्यो । त्यसपछि क्रमशः राम्रा आँखाहरु भेट्टाउन सकेन । हर एकले अनुहार खुम्च्याइहाले । घिनाए जस्तो गरे, फोहरको थुप्रो देखेर जसरी मान्छेहरु स्वतः प्रतिक्रियाहरु जनाउन थाल्दछन् ।

ऊ शुरुमा निकै भयभीत बन्यो । आफैलाई हेर्न सकेन र लगत्तै फर्किहाल्यो । अनुमान ग¥यो , शायद उसमा मयलका पाप्राहरु थुप्रेछन् क्यारे । वास्तवमा ऊ हरदिन नुहाउने गर्छ । सोच्यो, पानी सफा भएन होला वा साबुन कमसल प¥यो होला ।

घर आएर सुगन्ध आउने महँगो साबुनले सफा पानीमा धेरै बेरसम्म नुहाइरह्यो । नुहाइसकेपछि सफासँग पुछ्यो । अनि आफैलाई सुनाउँदै भन्यो – अब त मयल पक्कै छैन …।

आफूलाई सजाउन ऊ टक्क उभियो – ऐना अगाडि । आश्चर्य ! ऐनामा भने थुप्रै मयलका टाटाहरु … काला धब्बाहरु … ।
००