नखोजिएको प्रमाण

उसलाई अदालतमा उभ्याइयो । ऊ उभियो पनि ।


– तिमीले किन मान्छे मा¥यौ ?
– मैले मान्छे मारेको छैन ।
– तब तिम्रो हातबाट मर्ने के त ?


– अमान्छे, त्योसँग मान्छेको जस्तो आँखा छैन । त्योसँग मान्छेको जस्तो मुटु छैन । त्योसँग मान्छेमा हुनुपर्ने कुनै पनि गुण छैन । त्योसँग त केवल एउटा आकार छ । एउटा खोल छ । मान्छे जस्तो ….


– प्रमाण ?
– प्रमाण खोज्ने काम मेरो होइन, तपाइँहरुको हो । मेरो काम त बयान दिनु हो ।


अलिकति निस्तब्धताले छोप्यो । लगतै भाँचियो पनि ।


– मान्छेको जस्तो आँखा नहुनाले हामीलाई ऊ बेग्लै ढाँचाले हेथ्र्यो । मान्छेको जस्तो मुटु नहुनाले हामीलाई उसले पटक्कै सहेन । घर भत्काइदियो, जिन्दगी बिगारिदियो । के मात्र गरेन … खै, कसले खोज्यो यी कुराहरुको प्रमाण ?


– त्यसैले मान्छे मारेको कुरा म स्वीकार गर्दिनँ ।
– श्रीमान् , अपराधीले कहिले पनि अपराध कबुल गर्दैन । सब प्रमाणहरु पेश गरिएका छन् । यसैले अपराधीले कडाभन्दा कडा सजाय पाउनु पर्छ । अपराधीको आत्मभावनासँग यो केशको कुनै सम्बन्ध छैन …


– ठीक छ, अपराधीले कडाभन्दा कडा सजाय पाउनु पर्छ । म सजाय भोग्न तयार छु । तर मलाई पनि के विश्वास दिनु पर्छ भने कानूनले पनि सजाय पाउनु पर्छ ।


– किन ?
– मेरो सजायको बदलामा …


पूर्ण निस्तब्धताले छोप्यो । कुनै आवाज आएन । न्यायाधीशले कुर्सी जोडले च्याप्यो । शायद न्यायको कुर्सी हल्लिएछ ।
००