संसद पुनर्स्थापना गरेरै छाड्छौं : मिनेन्द्र रिजाल

काठमाडौं, पुस १३ : नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्रीद्वारा विघठित संसद कुनै पनि हालतमा पुनर्स्थापना गरेरै छाड्ने बताएका छन्।
सोमबार प्रधानमन्त्रीको गृहनगरमा नेपाली कांग्रेस क्षेत्र नम्बर ५ ले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले संविधानविपरीत विघठन गरेको संसद् पुनस्थापना गरेरै छाड्ने बताएका हुन्।
उनले भने, ‘ओलीले संविधानलाई भड्खालोमा पारे। नेपालीको समृद्धिको सपनालाई चकनाचुर बनाउन खोजे, ओलीको आँगनमा आएर भन्दैछु, यो असंवैधानिक कदमलाई हामी पल्टाएर छाड्छौँ। संसद् पुनर्स्थापना गर्छौँ। देशलाई ठिक बाटोमा लिएर हिँड्छौँ। ओलीलाई बिदा गर्छौँ।’
नेता रिजालले बालुवाटारमा गफ दिएर देश नचल्ने बताएका छन्। उनले अहिले देशमा यस्तो अवस्था आउनुमा पुष्पकमल दाहाल प्रचण्डलगायत नेकपा नेताको पनि हात रहेको बताए।
उनले संसद्को पुनर्स्थापना गर्न देशभर सशक्त आन्दोलनगर्ने चेतावनीसमेत दिएका छन्। कांग्रेस कुनै कम्युनिष्ट नेताको पक्षमा नभई नेपालको संविधानको पक्षमा रहेको उनको भनाई छ।
