संसद विघटनको विपक्षमा छु, प्रचण्ड-नेपाल समूहमा जान्नँ : बामदेव गौतम

काठमाडौं, पुस १७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफू संसद विघटनको विपक्षमा रहेपनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहमा भने नजाने बताएका छन्। 

शुक्रबार राष्ट्रियसभाको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उपाध्यक्ष गौतमले आफू प्रचण्ड–नेपाल समूहमा नजाने बताएका हुन्। ‘संसद विघटनको विपक्षमा सुरुदेखि नै छु। धेरै साथीहरुलाई पनि मन परेको छैन,’ उनले भने,‘तर, प्रचण्ड–नेपाल समूहमा म जान्नँ।’

उपाध्यक्ष गौतमले प्रचण्डले आफूतिर आउन आग्रह गरेपनि आफूले अस्वीकार गरेको बताए। ‘आज बिहान पनि प्रचण्डजीसँग भेट भएको थियो। प्रचण्डजीले तपाईं हामीतिर आउनुस् भन्नुभयो। तर, मैले आउँदिन भने,’ उनले भने।

उपाध्यक्ष गौतमले आफूलाई प्रधानमन्त्री ओलीले पनि बोलाइरहेको बताए।  उनले आफू अझै पनि पार्टी एकताको पक्षमा लागिरहेको बताए। ‘निर्वाचन आयोगबाट आधिकारिक रूपमा निर्णय नभएसम्म नेकपा विभाजन भएको मानिँदैन,’ उनले भने,‘त्यो समयसम्म म पार्टी एकताका लागि प्रयास गर्छु।’

उपाध्यक्ष गौतमले नेकपामा अहिले दुई नभई तीन कित्ता रहेको पनि बताए। ‘नेकपामा अहिले तीन कित्ता छन्। म पनि एउटा कित्ता मेरो हो,’उनले भने।  उपाध्यक्ष गौतमले आफूलाई पार्टी एकताका पहल गर्न देशभरबाट हजारौं नेता कार्यकर्ताको दिनदिनै फोन आउने गरेको बताए।