पुल र मान्छे
एउटा मसिनु पुल । पुल कतिसम्म साँगुरो भने त्यसबाट एक पटकमा एकजना मात्र हिंड्न सकिन्थ्यो । कहीँ जान वा कतै जान पर्यो भने त्यो पुलको उपयोग बिना सम्भव थिएन ।
एक पटक दुईतिरबाट दुईजना मान्छे हतार हतार पुल तर्दै आए र माझमा पुग्नासाथ दुवै ठिङ्ग उभिए । अब बाटो पुरा बन्द भैसकेथ्यो । बाटो छोड्न दुई मध्ये एक फर्कनु पर्ने भयो । माझमा पुगिसकेर को फर्कोस् ? पुलमा पाइला टेक्नु अगाडि ’emले एक आपसलाई देखेनन् होला वा देखेर पनि वास्ता नगरी हिंड्दै आए होलान् । दुवैलाई आ– आफ्नो गन्तब्यको लागि अर्को भन्दा छिटो पुग्नुपर्नेे हतारो थियो होला ।
दुवैले एक अर्कालाई मूक आक्रोशले हेरे ।
– थाहा छैन ?
– के ?
– एक पटकमा एकैजना मात्र पुल तर्न सकिन्छ भन्ने कुरा ?
– थाहा छ ।
– किन त देखेर पनि फेरि आएको ?
– तिमी नि ?
– म पहिला आएको ।
– हैन पहिला त म । उसले सीमाबाट आधा पाइला अगाडि सार्यो ।
– हैन , पछि आउने तिमी । उसले पनि स्थिति सुधार्न खोज्यो ।
कुरा टुङ्गिएन । विवाद क्रमशः चलिरह्यो ।
– म पहिला जान्छु । त्यसपछि तिमी जाऊ । एउटाले प्रस्ताव राख्यो ।
– हैन, म पहिला जान्छु , तिमी पछि …। उसले पनि आफ्नै तालको प्रस्ताव राख्यो ।
सम्झौता हुन सकेन । विवाद यथावत् रहिरह्यो ।
– पछि आउने हट्नुपर्छ …
– तिमी हौ नि पछि आउने ।
– झूटो नबोल । हद्दैनौ भने बस म चढेर जान्छु ।
– यसो हुन सक्तैन, बरु तिमी बस म नाघेर जान्छु …
अझै पनि विवाद टुङ्गिएन । टुङ्गिने स्थिति देखिएन पनि । दुवैलाई अगाडि पुग्नुपर्ने । तर कोही पनि पछि हट्न नचाहने, न अर्कोलाई अगाडि बढ्न दिनु नै ।
एक इन्छ पनि पछाडि डेग नचली दुवै टक्क उभिरहे । दुवैलाई आ– आफ्नो अहंको रक्षा गर्नु जरुरी हुन गयो । अगाडि जाने काम ढीला होस् – केही छैन ।
यस्तैमा पुल हल्लिए जस्तो भयो । तर निकै तल अविरल बगिरहेको पानी भने एक्कासि थामिए जस्तो देखियो ।
००