सपना विपना

आहा ! आज गजबको सपना देखेँ मैले । साँच्चै कति आनन्ददायक रहेछ । लोभ्याउने खालको त्यो सपना …संधैभरि हेरिरहुँ जस्तो ..यस्तो पो सपना !


कति मनमोहक र मनोहारी । रङ्गीचङ्गी फूलहरुले भरिएको, फूलैफूलले सिंगारिएको बगैंचा ! अगाडि भव्य महल । सेवारत् नोकरचाकरहरुको पंक्ति । रुपसीहरुको मादक नृत्य । टेबुलमा चौरासी व्यञ्जन । चारैतिर बैभवको झकिझकाउको सुन्दर संसार । जीवन भनेको यस्तो पो हुनुपर्छ …
काश ! विपना भइदिएको भए ….।

उफ् ! कति डरलाग्दो सपना त्यो । मृत्युको विकराल पहाडले पछ्याइरहको बेला भयभीत खुट्टा कता भागूँ कता भागूँले अलमिलएको समय । पहाडले अब किच्ला अब किच्ला जस्तो क्षण । भाग्न नसकेर शरीर त फ्यात्तै गलिसकेथ्यो ।


कति भयावह र त्रासद ! मृत्युको चिसो स्पर्शले च्याप्ला भन्ने डर .. उफ् ! सम्झंदा अहिले पनि मुटु काँप्न थाल्छ । मन आतङ्कित हुन्छ …
धन्य भगवान् ! विपना होइन रहेछ ।