हिमपातपछि कालिन्चोकमा पर्यटकको घुइँचो


शव्द/तस्विरः शम्भु गौतम
दोलखा, माघ २४ : यो वर्षकै पहिलो हिमपातले दोलखामा पर्यटन र कृषि क्षेत्रमा खुशीको सञ्चार गराएको छ । हिमपात हुन थालेपछि दोलखा सदरमुकाम चरिकोट र कालिन्चोक क्षेत्रमा पर्यटकहरुको घुइँचो लाग्न थालेको छ।

विश्वव्यापी कोरोना महामारीका कारण थलिएको दोलखाको पर्यटन क्षेत्र यो पटकको हिमपातले पुनः सञ्चार भएको हो ।

धार्मिक तथा प्राकृतिक सौन्दर्यका कारण चर्चामा रहेको कालिन्चोक क्षेत्र पछिल्लो समय हिउँ खेल्ने ठाउँको रुपमा पनि विकसित भएको छ । राजधानी काठमाडौँबाट नजिकै रहेको यो क्षेत्रमा हिमपात भएपछि थेगिनसक्नुको भीड लाग्ने गर्दछ ।

‘पोहोरको जस्तो भीडभाड नभए पनि यो पालिको हिमपातपछि अहिले कालिन्चोकका सबैजसो होटलहरु भरिने गरी पर्यटकहरु आएको सुनापाती होटलका सञ्चालक हरि ओलीले जानकारी दिए ।’

यो वर्षको पहिलो हिमपातका कारण हिजो र आज चरिकोटका होटलहरु प्राय भरिभराउ भएको होटल लक्ष्मी, चरिकोटका सञ्चालक सुरेन्द्र उप्रेतीेले बताए ।

कालिन्चोकको आधारबस्ती कुरीमा सुविधासम्पन्न होटलहरु निर्माण गरिएको भए पनि हिमपातका बेला ती अझै पर्याप्त छैनन् । यद्यपि ती होटलहरुको बैधानिकता’bout अझै प्रश्न छ । सार्वजनिक स्थलमा निर्माण गरिएका होटलहरुलाई सरकारले अझै बैधानिक बनाउन सकेको छैन र अझै पनि त्यसरी होटल बन्ने क्रम रोकिएको छैन ।
सदरमुकाम चरिकोटबाट कालिन्चोकसम्मको करिब १७ किलोमिटर बाटो कठिनाइपूर्ण भए पनि हिमपातको बेला निकै रमाइलो हुने गर्दछ ।