प्रचण्ड-नेपाल समूहको रणनीति तय गर्न केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, फागुन १९ : नेकपा पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ।
सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएपछि पनि प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा राजिनामा नदिएपछि भावी रणनीति तय गर्न प्रचण्ड-नेपाल समूहले केन्द्रीय समिति बैठक बोलाएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २३ फागुनमा प्रतिनिधिसभा बैठक बोलाएकी छन्। ५ पुसमा मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। ११ फागुनमा उक्त निर्णय बदर गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना हुने फैसला गरेको थियो।
