मिथिला महाकुम्भ शुरु

महोत्तरी, २९ फागुन : पिठ्युँमा सातुसामल र एकसरो फेर्ने लुगाको पोको, नाङ्गा खुट्टाको हिँडाइ, मनवचनमा रामसीताप्रति भक्तिभाव र लगातार वाणीमा सीताराम सङ्किर्तन ! मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको देखिने परिचय हो यो । फागुन औँशीका दिन शुरु भएर फागुन पूर्णिमामा समापन गरिने परम्पराको यो यात्राको क्रम मिथिलामा आज प्रारम्भ भएको छ ।

के साधु सन्त, के रागीबैरागी र के गृहस्थ जीवनका नरनारी..! हजारौँको सहभागिताको १५ दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री यस अवधिभित्र सांसारिक काम, कुरा थन्क्याएर भजनकीर्तनमा लीन छन् । सीताराम…!! हजारौँका मुखबाट निस्कने एउटै मन्त्र, एउटै वाणी र एउटै लय ।

मिथिलामा मिथिला परिक्रमा तीन प्रकारका रहेका मानिन्छन् । वृहत मिथिला परिक्रमा, मिथिला माध्यमिकी परिक्रमा र मिथिला अन्तरगृह परिक्रमा । समग्र पुरानो मिथिलाको परिक्रमा गरिने २६८ किलोमिटरको यो यात्राको प्रचलन अब हटिसकेको देखिन्छ । कोशी नदी किनारमा पवित्रस्नान गरेर भारतको सहर्सा जिल्लामा पर्ने सिंहेश्वरनाथबाट शुरु भएर गङ्गा किनारको सिमरियाघाट हुँदै पर्वतश्रेणीको परिक्रमा गरेर सिंहेश्वरनाथमै यो यात्रा समापन गरिने पूर्वपरम्परा अब देखिन छाडेको छ । तर प्राचीन मिथिलाका महोत्तरी, धनुषा र भारतको मधुवनी जिल्लाभित्र गरी १३३ किलोमिटरमा गरिने माध्यमिकी र प्राचीन जनकपुरधामको आठ किलोमिटर दूरीभित्र गरिने मिथिला अन्तरगृह परिक्रमा भने अद्यावधि छँदैछ । अन्तरगृहको एकदिने परिक्रमा फागुन पूर्णिमाका दिन बिहान गर्ने परम्परा छ ।

धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकाको ठेराकचुरीस्थित मिथिला बिहारी मन्दिरबाट मिथिला बिहारी (श्रीराम) को डोला (डोली) अघि लगाएर माध्यमिकी परिक्रमा यात्रा आज शुरु भएको छ । यस यात्राका सहभागी जनकपुरधामस्थित अग्निकुण्ड मठ पुगेर किशोरीजी (श्री सीताजी)को थपिएको डोलासमेत अघि लगाएर रामजानकी मन्दिरको प्रदक्षिणा गर्दै अघि बढेका छन् । यात्री टोली पहिलो दिनको बासका लागि आज साँझ धनुषा जिल्लाकै हनुमाननगर (हनुमानगढी) पुग्नेछ ।

यात्रामा रहेका तन्मयसाथ मन एकाग्र गर्दै सीताराम सङ्कीर्तनमा लीन छन् । श्रीराम र सीताजीको डोला जुनजुन बस्ती हुँदै अघि बढ्छ, त्यहाँ डोलाको दर्शन गर्ने श्रद्धालुको भीड लाग्छ । ‘बोलो, सियावर रामचन्द्रकी जय’ यात्रीको लयमा लय मिलाउँदै डोला दर्शन पुग्नेको भीडले ‘जय ! जय !!’ वाणी मिसाउँछन् ।

माध्यमिकी परिक्रमाको यो यात्रामा पहिलो, नवौँ, १०औँं, ११औँ, १२औँ र १५औँ (अन्तिम रात) दिनका गरी धनुषा जिल्लामा छ रात्रि विश्रामस्थल छन् । यी हनुमानगढी, पर्वता, धनुषाधाम, सतोषर, औरही (हर्षाहा) र जनकपुरधाम हुन् । त्यसैगरी चौथो, पाँचौँं, छैटौँ, सातौंँ र आठौँ दिनका गरी पाँच रात्रि विश्रामस्थल क्रमशः मटिहानी, जलेश्वर, मडै, ध्र्वकुण्ड र कञ्चनवन महोत्तरीमा पर्दछन् । यसैगरी दोस्रो, तेस्रो, १३औँ र १४औँ दिनका गरी चार विश्रामस्थल क्रमशः कल्याणेश्वर (कलना), गिरिजास्थान, करुणा र बिसौल भारतको मधुवनी जिल्लामा पर्छन् ।

रात्रिविश्रामस्थलमा यात्रीको खानपिन, आवास, आकस्मिक उपचार र आइपर्ने समस्यामा सहयोग पु¥याउन स्थानीयस्तरमा समिति बनाइने परम्परा छ । नेपालतर्फका महोत्तरी र धनुषाका रात्रि विश्रामस्थलमा वृहत्तर जनकपुर क्षेत्र विकास कोष, सम्बन्धित स्थानीय तह, उद्योग वाणिज्य सङ्घ र अरु विभिन्न सामाजिक सङ्घसंस्थाले यस कार्यमा संयुक्त पहलकदमी लिँदै आएका छन् ।

त्रेतायुगमा जनक नन्दिनी (जनककी छोरी) सीता र अयोध्या (कौशलराज्य) का राजा दशरथका पुत्र श्रीरामको जनकपुरमा विवाह हुँदा दुलहा÷दुलही (बेहुला÷बेहुली) बनेका सम्झनास्वरुप राम सीताका प्रतिमा डोलीमा राखेर घुमाइने यात्राको एक पक्ष रहेको महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठका मुख्य साधु रवीन्द्र दास वैष्णव बताउनुहुन्छ । हिन्दू परम्परामा राम सीतालाई भगवान् विष्णु र लक्ष्मीका अवतार मानिन्छ । मङ्सिर शुक्ल पञ्चमीमा विवाह भएपछि अरु सबै अयोध्या फर्के पनि राम सीता भने जनकपुरमै रहेर फागुन शुक्ल पक्षभरि मिथिलाका विभिन्न ठाउँको विहार गर्दै घुमेका विश्वासमा राम सीताको पदचाप पछ्याउँदै माध्यमिकी परिक्रमाको परम्परा बसेको वैष्णवको भनाइ छ ।

धनुषाको ठेराकचुरीबाट शुरु भएर हनुमानगढीको बासपछि दोस्रो दिन भारत प्रवेश गर्ने यो यात्रामा चौथो दिन महोत्तरी जिल्ला प्रवेश गरिन्छ । आठाँै दिनको रात्रि विश्रामपछि पुनः धनुषा प्रवेश गरिने यो यात्रा १३औँ दिन फेरि भारत पुग्छ । अनि १४औँ दिन भारतको बिसौल रात्रि विश्राम गरेपछि १५औँ दिनको रात्रि विश्रामका लागि यात्री जनकपुरधामस्थित बाह्रबिघा (रङ्गभूमि) मैदान पुग्छन् । अन्त्यमा १६औँ दिन बिहान जनकपुरको अन्तरगृह परिक्रमा गरेपछि माध्यमिकी यात्रा पूरा भएर होली (फागु) पर्व मनाउने मैथिल परम्परा छ । परिक्रमामा नेपाल र भारतको गरी १३३ किलोमिटर लामो पैदलयात्रा हुने गरेको छ ।

मिथिला माध्यमिकी परिक्रमाले नेपाल र भारत दुई देशबीचको सांस्कृतिक सम्बन्ध जीवन्त राख्नसँगै मिथिला सभ्यता र संस्कारलाई समृद्ध बनाउने र त्यसको अनुशरणका लागि प्रेरणा मिल्ने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव बताउनुहुन्छ । परिक्रमाका क्रममा पुगिने सबै धार्मिकस्थल रामायणको विशेषता र राम सीताको वैवाहिक सम्बन्धसँग जोडिएका स्थानका रूपमा चिनिन्छन् । परिक्रमा अवधिभरि सहभागी यात्रुले चोखो खानेकुरा (सात्विक भोजन) खाने, लसुन, प्याज सेवन नगर्ने, खाली खुट्टा हिँड्ने, बिहानै उठेर न्वाइध्वाइ गरी भजनकीर्तनमा सहभागी हुनुपर्ने नियम बनाइएको हुन्छ ।

परिक्रमामा धार्मिक, जातिगत या अन्य कुनै पनि भेदभाव रहँदैन, परिक्रमा गर्ने भक्तालुहरु समान र विशिष्ट मानिन्छन् । मिथिलाका तीन परिक्रमा (बृहत, माध्यमिकी र अन्तरगृह)मध्ये कुनै परिक्रमा जीवनमा एकफेरा मात्र पनि निष्ठापूर्वक गरिएमा परमात्मा प्राप्त हुने र मोक्ष मिल्ने हिन्दू मैथिल जनविश्वास रहेको साधु सन्तहरुको भनाइ छ । –गोपालप्रसाद बराल(रासस)