नेपालबाटै कैलाश-मानसरोवर दर्शन

काठमाडौं, चैत १ : अब नेपालबाटै तिब्बतमा रहेको कैलाश पर्वत र मानसरोवरको दर्शन गर्न पाइने भएको छ। यसअघि कैलाश पर्वतको अवलोकनका लागि तीर्थयात्रीहरू तिब्बतको भिसा लिएर जानुपर्ने बाध्यता थियो।

नेपाल हुँदै कैलाश दर्शन गर्न जाने भारतीय पर्यटकले नेपालगन्ज हुँदै सीमकोट भएर हेलिकप्टरमार्फत हिल्सामा पुगी तिब्बती भिसा लिएर जानुपर्ने व्यवस्था थियो । त्यसका लागि पाँचदेखि सात दिनको प्याकेजमा मानसरोवर हुँदै कैलाश परिक्रमा गरी फेरि हिल्सा हुँदै सीमकोटमा फर्किनु पर्ने हुन्थ्यो । तर कोभिडका कारण चीन सरकारले कैलाश पर्वत जाने रुटमा कडाइ गरेपछि कतिपय भारतीय नागरिक वर्षमा कम्तीमा एकपटक कैलाश पर्वतको दर्शन गर्नुपर्ने मान्यताबाट वञ्चित हुदै आएका छन्। 


हुम्लाको लाप्ची । जहाँबाट कैलाश पर्वत । मानसरोवर काखमै आएको जस्तो देखिन्छ ।

त्यसैलाई ध्यानमा राखेर माउन्टेन हेलिकप्टरले विशेषतः भारतीय तीर्थयात्रीलाई नेपालबाटै कैलाश दर्शन गर्ने नयाँ प्याकेज बनाएको हो। ‘कोरोनाका कारण लामो समय कैलाश दर्शन गर्न नपाएका तीर्थयात्रीलाई मध्यनजर गरेर हामीेले नेपालबाटै कैलाश दर्शन गराउने रुट तय गरेका छाैं,’ सीता एयरका प्रबन्ध निर्देशक तथा माउन्टेन हेलीका प्रवद्र्धक राजेन्द्रबहादुर सिंहले भने, ‘नेपालबाटै हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीको लाप्चीबाट कैलाश पर्वत दर्शन गर्न मिल्ने व्यवस्था हामीले गरेका छाैं।’

उनका अनुसार विगतमा कैलाश यात्राकै लागि चीन सरकारले अप्रिलदेखि सेप्टेम्बरसम्म तीर्थयात्रीका लागि नाका खोल्ने गरेको थियो। तर कोभिडका कारण सन् २०२० मा कैलाश पर्वतको यात्रा सम्भव भएन। त्यसैको प्रभावले अहिलेसम्म पनि चीनबाट हिल्सा जाने नाका बन्द छ। हुम्लाको नाम्खा–६ लिमी लाप्चीबाट खुला मौसममा कैलाश र मानसरोवरको दृश्य अवलोकन गर्न सकिने र यसले पर्यटकीय अर्थतन्त्रलाई पनि बलियो बनाउन केही सहयोग हुने सम्भावना देखेपछि यसलाई नयाँ पर्यटकीय गन्तव्य स्थलका रूपमा स्थापना गर्न लागेको सिंह बताउँछन्।


हुम्लाको लाप्चीबाट कैशला पर्वतको दर्शन गर्दै भारतीय तीर्थयात्रीहरु । फोटो: काठमाडौं प्रेस
हुम्लाको लाप्चीबाट कैशला पर्वतको दर्शन गर्दै भारतीय तीर्थयात्रीहरु ।

यो ठाउँलाई तिब्बत र नेपालको नाकाका रूपमा पनि लिइन्छ। सिंह भन्छन्, ‘मानसरोवरको मुख्य बजारमा हवाई सेवा प्रदायकका रूपमा धेरै अगाडिदेखि नै आबद्ध छौं। त्यसकारण पनि त्यहाँको बजार मागलाई ध्यानमा राखेर कैलाश पर्वत जाने अन्य रुट बन्द भएको अवस्थामा हामीले वैकल्पिक रुटका रूपमा यसको प्रयोग गर्न लागेका हौं।’ सुरुमा सर्वेक्षण, सुरक्षित अवतरणलगायत सबै कुराको पहिचान गरी लगभग ८ देखि १० लाखको लागतमा यो रुट खोलेको सिंह बताउँछन्।

रुट खुलिसकेपछि डकुमेन्ट्री बनाउनेदेखि पुरै कैलाश दर्शन प्याकेज बनाएर पार्टनर ट्राभल एजेन्सी ‘ऋचा टुर्स’ मार्फत भारतमा पनि यसको प्रचार भइरहेको उनले जानकारी दिए। ‘कतिपय नेपालीलाई नै लाप्चीबाट कैलाश र मानसरोवरको अवलोकन गर्न सकिन्छ भन्ने कुरा थाहा छैन। उनीहरूलगायत भारतीय तीर्थयात्रीहरूलाई नै टार्गेट गरी यो रुट खोलेका हौं,’ प्रबन्ध निर्देशक सिंहले भने, ‘औपचारिक रूपमा अप्रिल १ तारिखदेखि सुरु गर्ने कार्ययोजना छ। भारतबाट बुकिङ आउने क्रम जारी छ।’

कसरी गर्ने लाप्चीबाट कैलाश पर्वत दर्शन?

लाप्चीबाट कैलाश पर्वत र मानसरोवर दर्शनका लागि भारतीय तीर्थयात्री नेपालको नाकाबाट आउने गर्छन्। त्यसपछि एक रात नेपालगन्जमा बिताउँछन्। भोलिपल्ट बिहान सीता एयरको जहाजबाट सिमकोट पुग्छन्। सिमकोटमा फेरि एक रात बिताउनुपर्ने हुन्छ। उक्त क्षेत्र उच्च उचाइमा रहेको हुँदा यात्रीहरूलाई लेक नलागोस् भनेर सिमकोटमा राख्ने व्यवस्था गरिएको सिंह बताउँछन्।



भोलिपल्ट मात्रै उनीहरूलाई हेलिकप्टरमार्फत लाप्चीमा लगी कैलाश पर्वतको दर्शन गराउने व्यवस्था मिलाइएको छ। हेलिकप्टरमा सिमकोटबाट लाप्चीसम्मको हवाई दूरी लगभग २० मिनेटको छ। तीर्थयात्रीलाई बढीमा १० देखि १५ मिनेटसम्म मात्र लाप्चेमा बस्न दिइने प्रबन्ध गरिएको छ। ‘लाप्ची धेरै नै उचाइमा रहेका कारण हामीले तीर्थयात्रीहरूलाई कैलाश पर्वत दर्शन गर्न वा धूपबत्ती चढाउन बढीमा १० देखि १५ मिनेटसम्म मात्र बस्न दिने व्यवस्था गरेका छौं,’ उनले भने।


हुम्लाको लाप्ची । जहाँबाट कैलाश पर्वत । मानसरोवर काखमै आएको जस्तो देखिन्छ ।
हुम्लाको लाप्ची । जहाँबाट कैलाश पर्वत । मानसरोवर काखमै आएको जस्तो देखिन्छ ।

आगामी दिनहरूमा तीर्थयात्रीहरूको आगमन बढेको खण्डमा हुम्लाकै स्थानीयलाई रोजगारी दिई दिनभरि बस्न अक्सिजनको व्यवस्था गर्ने योजनासमेत रहेको सिंह बताउँछन्।