केपी ओली एमालेमा अहिलेको बितण्डाको कारक : नेपाल

काठमाडौं, चैत ४ : एमाले वरिष्‍ठ नेता माधवकुमार नेपालले अहिले पार्टीभित्र उत्पन्‍न परिस्थितिको जिम्मेवार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली भएको आरोप लगाएका छन्।

राजधानीमा जारी एमाले नेपाल-खनाल समूहको राष्‍ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले त्यसको एक भारी तथ्य र एक भारी प्रमाण आफूहरूसँग रहेको बताए।

अर्का वरिष्‍ठ नेता झलनाथ खनालले जस्तै उनले पनि मदन भण्डारी फाउण्डेसनको नाममा गुटको सुरुआत ओलीले गरेको बताए। ‘जिल्ला जिल्लामा तपाईंहरू पनि पीडित, केन्द्रमा हामी पीडित, पीडित पीडित एक ठाउँमा भेला भएका छौँ,’ नेपालले भने, ‘यो पदको होइन, पार्टी निर्माण, विचार र सिद्धान्तको लडाईं हो। विचारशून्यहरूले कम्युनिस्ट पार्टी निर्माण गर्न सक्दैनन्।’

०७१ सालमै ओली अध्यक्ष निर्वाचित भएपछि अब पार्टीमा संकट निम्तिने भयो भन्‍ने लागेको उनले बताए। ‘बैठक बोलाइदिनुपर्‍यो भनेर उहाँलाई अनुनय विनय गर्नुपर्थ्यो, टिकट वितरण, नियुक्ति, कामको विभाजनमा पूर्वाग्रह राख्नुभयो। ओलीको प्रवचन सुनेर बस्नुपर्ने बैठकहरूमा, हाम्रा कुरा सुन्‍नै नचाहने,’ नेपालले भने।

महाधिवेशनपछि तयार हुनुपर्ने पार्टीका कमिटीहरूले पूर्णता पाउँदै नपाएको उनले बताए। ‘ज्येष्‍ठ कम्युनिस्ट मञ्‍च त बन्दै बनेन,’ उनले भने।