झाडापखालाबाट दिदीबहिनीको निधन

तुलसीपुर, १३ वैशाख: झाडापखालाबाट एकै घरका दिदीबहिनीको मृत्यु भएको छ । शनिबार बेलुका स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका–६ का प्रेम बुढाका ११ वर्षीया रीता बुढा र १३ वर्षीया विनिता बुढाको निधन भएको हो ।
दिदी विनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिनुभयो । उपचारका क्रममा निधन भएका उनीहरुको शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।
गाउँपालिका लकडाउन
बबई गाउँपालिकामा आज बिहानदेखि लागू हुने गरी लकडाउन गरिएको छ । गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढ्न थालेपछि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लकडाउन गरिएको गाउँपालिकाका प्रेस संयोजक प्रेमबहादुर राम्जाले जानकारी दिनुभयो ।
गाउँपालिकामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ । स्थानीय प्रशासन, उद्योगी, व्यापारीसँग समन्वय गरेर गाउँपालिकाले लकडाउन गरेको प्रेस संयोजक राम्जाले जानकारी दिनुभयो ।(रासस)
