वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको निधन

काठमाडौं, ३ वैशाख: वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो एन्ड जनरल अस्पतालमा निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि ८४ वर्षीय प्रधानलाई केही दिन अगाडि अस्पतालमा भर्ना गरिएको थियो ।

नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले चिनिने प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो ।

सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । यस्तै उनले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिएका छन् ।

सन् १९५२ मा प्रेमध्वजले १६ वर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए ।

प्रधानका यो नेपाली शिर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है, गोरेटो त्यो गाउँको, तिमीलाई अचेल कहाँ भेटौंलगायतका दर्जनौं गीत चर्चित छन्।