अक्सिजनको अभावले मानिसको मृत्यु हुँदापनि सरकार गम्भीर र जिम्मेवार बनेन् : देउवा

काठमाडौं, वैशाख ३१ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभरी कोभिडबाट अक्सिजनको अभावबाट ठूलो संख्यामा मानिसको मृत्यु हुँदापनि सरकार गम्भीर र जिम्मेवार नदेखिएको बताएका छन् ।
सभापति देउवाले आज साँझ एक बिज्ञप्ति जारी गर्दै भविष्यमा आउन सक्ने थप जटिल परिस्थितिलाई मध्यनजर गरि सबै जिल्लामा अक्सीजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधीको व्यवस्था गर्न आग्रह समेत गरेका छन् ।
‘कोभिड—१९ को संक्रमणले उग्र रुप लिईरहेको छ । देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सीजन, भेन्टीलेटर सहितका आईसीयू बेड र औषधीको नितान्त अभाव भई सकेको छ । सुदूरपश्चिम लगायतका दुर्गम स्थानहरु र देशभरिमा नै अक्सीजन अभावले ठूलो संख्यामा मानिसको मृत्यु भईरहेको छ । सरकार यस विषयमा अहिलेसम्म पनि गम्भीर र जिम्मेवार देखिएको छैन ’ बिज्ञप्तिमा उल्लेख छ ।
उनले यस विषम घडीमा मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ, संस्थाहरुलाई आवश्यक सहयोग गरि दिन अपिल गर्दै सबै नेपालीहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्नका लागि पनि आग्रह गरेका छन् ।

