नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं, जेठ २१ : गत ९ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नागरिकसम्बन्धी अध्यादेशविरुद्ध परेका रिटमाथि शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ तोकिएको छ ।

राष्ट्रपतिले ‘नेपाल नागरिक (पहिलो संशोधन) अध्यादेश, २०७८’ जारी गरेकी थिइन् । त्यसविरुद्ध ६ वटा रिट परेका छन् ।

वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, अधिवक्ता रामबहादुर शाही, अधिवक्ता कुलबहादुर बोगटी, अधिवक्ता वीरभद्र जोशी तथा मौलिक जरोकिलो पार्टीको तर्फबाट र आफ्नो हकमा समेत उपमहासचिव लक्ष्मण पोखरेलले रिट दायर गरेका छन् ।

ती रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलास गठन भएको छ ।