राष्ट्रपति राजनीतिक आधारमा नभई संविधानका आधारमा चल्नुपर्छ : वरिष्ठ अधिवक्ता शम्भु थापा

काठमाडौं, असार ९ : वरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक पृष्ठभूमिका आधारमा नभई संविधानअनुसार चल्नुपर्ने बताएका छन्। 

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज (बुधबार) संवैधानिक इजलासमा बहसका क्रममा उनले राष्ट्रपतिले संविधानविपरीत कार्यकारिणी अधिकार आफ्नो हातमा लिन खोजेको आरोप पनि लगाए। 

प्रधानमन्त्री केपी ओलीेले प्रतिनिधिसभा विघटनको सिफारिस गर्दा राष्ट्रपतिले संविधानको धारा ७६ को कार्यान्वयन प्रक्रिया पूरा भएको छ कि छैन भनेर हेर्नुपर्नेमा त्यसो नगरिएको थापाको स्पष्टोक्ति थियो।

थापाले विश्वासको मत नपाएको व्यक्ति प्रधानमन्त्री रहिरहने व्यवस्था संसारमा कहीँ पनि नरहेको पनि बताए।

उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई १ सय ४९ जना सांसदले समर्थन गर्ने भनिसकेपछि त्यसको परीक्षण प्रतिनिधिसभामा नगराउँदा माननीय सांसदहरूको मतदान गर्ने अधिकार रोकिएको स्पष्ट पारे।