नागरिक अगुवा

अचानक उहाँको मोबाइल बज्यो । त्यसलाई कानमा टाँसेर ‘हलो’ भन्नासाथ उहाँको मुस्कान गायब भयो । अनुहारमा सजिएको प्रफुल्लता भूमिगत भयो । चिन्ताका रेखा गाढा भए । सोफामा ढल्किएको जीउ अनायास सोझो भयो । नागरिक अगुवाबाट उहाँ एकाएक हामीजस्तै सामान्य नागरिक देखिनुभयो ।


आम हडताल शुरू हुने अघिल्लो साँझ मशाल जुलूस देखेर तर्सेका साथीहरूले नागरिक समाजका अगुवालाई भेट्ने निधो गरे । आफ्ना अगुवा कस्ता हुँदा रहेछन् भनेर हेर्न म पनि उनीहरूको पछि लागें ।

लोडशेडिङ जारी थियो । सडक, गल्ली अँध्यारोमा डुबेका थिए । पालेले गेट खोलिदिएपछि हामी इन्भर्टरले झलमल्ल पारेको कम्पाउन्डमा दाखिल भयौं । गेटमा लेखिएको थियो— कुकुरदेखि सावधान । एउटा अजंगको कुकुर खोरै भत्काउँला जस्तो गरेर भुक्न थाल्यो ।

अगुवाज्यूले हामीलाई बैठकमा भित्र्याउनुभयो । र, सोफामा अडेस लागेर मुस्कुराउँदै भन्नुभयो, ‘भन्नोस् भाइहरू, किन आउनुभयो ?’

‘माओवादीले तीनदिने आम हडताल घोषणा गरेको छ । यसैका ’boutमा कुरा गरौं कि भनेर आएका ।’ उहाँको प्रफुल्ल अनुहार सामु संकोच मान्दै एउटा साथीले कुरा उठायो, ‘यसले द्वन्द्व बढाउँछ, घृणा बढाउँछ । आजको मशाल जुलूसलाई नै हेरौ न, कति उग्र नारा लागिरहेका छन् ।’

‘यसलाई फिर्ता गराउन पहल गर्नुपर्‍यो हजूर । चूप लागेर बस्नु भएन ।’ अर्को साथीले उसलाई उछिन्यो, ‘दुई महीना अघि एउटा पार्टीले आफ्ना नेता मारिएको विरोधमा जिल्ला बन्द गराउन खोज्दा हजूरको कति कडा प्रतिक्रिया आएको थियो !’ हजूर, सर अथवा साहेब शब्दले सम्बोधन नगरे अगुवाहरू निको मान्दैनन् भन्ने उसलाई थाहा रहेछ ।

‘हेर्नुहोस्, देश बरबाद पार्ने नै यी पार्टीहरू हुन् । भ्रष्टाचार र अनैतिकताले जर्जर यिनीहरू यथास्थितिबाट एक कदम अघि वढ्न चाहँदैनन् ।’ उहाँको निष्कर्ष थियो, ‘अग्रगमनको गति रोक्ने यिनीहरू नै हुन् ।’

‘तर हजूर, माओवादी त धमाधम जातीय गणराज्य घोषणा गरिरहेको छ, जनताको जग्गा कब्जा गरिरहेको छ, मानिसको हत्या गरिरहेको छ, त्यसमाथि तीन–तीन दिनको आम हडताल । भय, आतंक र अराजकताको त हदै भयो ।’ साथीले जिकिर गर्‍यो ।

‘यो सबले भोलि ठूलो मुठभेड निम्त्याउँछ । रक्तपात निम्त्याउँछ । यसलाई रोक्न हजूरका तर्फबाट केही त हुनैपर्‍यो । एउटा वक्तव्य भए पनि जारी गरिदिनुहोस् न ।’ अर्काले अनुरोध ग¥यो ।

उहाँ सोफामा अझ आरामसाथ ढल्किनुभयो र एक क्षण हाम्रो अनुहारमा दृष्टिपात गर्नुभयो । अनि बिस्तारै दाहिनेतिर मुन्टो फर्काएर कुनै अमूर्त तत्वलाई सम्बोधन गरे झैं आवाज निकाल्नुभयो, ‘समस्यालाई टुक्रामा हेरेर हुँदैन । समग्रतामा हेर्नुपर्छ । यसका कारण इतिहासमा लुकेका छन् । हाम्रो सामाजिक व्यवस्थामा लुकेका छन् । आज समाज ऐतिहासिक रूपान्तरणको क्रममा छ । जनताले दुःख पाउनु सिद्धान्ततः राम्रो होइन, तर यो नयाँ नेपालको प्रसववेदना हो । देशले अलिकति दुःख त सहनै पर्छ ।’

त्यसपछि उहाँले कुन कुन देशमा संघर्ष हुँदा कति कति मान्छे कसरी कसरी मरे भन्ने तथ्यपूर्ण इतिवृत्त प्रस्तुत गर्नुभयो र त्यसको तुलनामा हामीले भोगेको कष्ट, पीडा, हिंसा, आतंक नगण्य हो भन्ने व्याख्या गर्नुभयो ।

‘हाम्रै दुई बिघा जग्गा पनि माओवादीले गएको हप्ता कब्जा गर्‍यो । हामी न शोषक, न सामन्त, न पूँजीपति । सम्पत्तिको नाममा भएको त्यही जग्गा पनि लुटेपछि अब के खाएर बाँच्ने ?’, साथीले निरीह जिज्ञासा प्रस्तुत गर्‍यो ।

‘यही त कमजोरी छ आजको पुस्तामा । तपाईंहरू आत्मकेन्द्रित पुरानो मानसिकताबाट अझै मुक्त हुन सक्नुभएको छैन ।’ उहाँले सम्झाउनुभयो, ‘समाजको समग्र रूपान्तरणमा यस्ता कुरा सामान्य हुन् । तपाईं किन आफ्नो व्यक्तिगत समस्यालाई केन्द्रमा राखेर यो महान परिघटनाको अवमूल्यन गर्नुहुन्छ ? त्यसबाट माथि उठेर हेर्न सिक्नोस् ।’

हामी अवाक् भयौं र आफूलाई अबुझ, स्वार्थी एवं हीन महसूस गर्न थाल्यौं । मलाई लाग्यो— आफ्नो जग्गा कब्जा गरिदिए बापत माओवादीप्रति कृतज्ञता ज्ञापन नगरेसम्म यो अवस्थाबाट मुक्त हुन सकिंदैन ।

अचानक उहाँको मोबाइल बज्यो । त्यसलाई कानमा टाँसेर ‘हलो’ भन्नासाथ उहाँको मुस्कान गायब भयो । अनुहारमा सजिएको प्रफुल्लता भूमिगत भयो । चिन्ताका रेखा गाढा भए । सोफामा ढल्किएको जीउ अनायास सोझो भयो । नागरिक अगुवाबाट उहाँ एकाएक हामीजस्तै सामान्य नागरिक देखिनुभयो ।

एक्कासी त्यस्तो परिवर्तन देखेर हामी अलमल्ल प¥यौं । ‘एक छिन त्यहीं बस है, म तिमीलाई लिन आइहाल्छु,’ भनेर उहाँले फोन काट्नुभयो र तत्काल कसैलाई फोन गर्नुभयो । उताको मानिसले उहाँको समस्या’bout थाहा पाइसकेको रहेछ क्यार । उहाँ आफ्नो परिष्कृत भाषा बिर्सेर हामी जस्तै अपरिष्कृत भाषामा रन्किंदै. हुनुहुन्थ्यो, ‘सरी भनेर हुन्छ ? त्यो निर्दोषको के गल्ती थियो ? यसरी जनतालाई आतंकित पार्ने ? यही हो तपाईंहरूको गणतन्त्र ? हेर्नोस् भट्टराईजी, यही ताल हो भने म तपाईंहरूको समर्थन गर्न सक्तिनँ । बुझ्नुभो ?’

मैले सोधें, ‘के भयो हजूर ?’

उहाँको सास बढेको थियो । आवाज कामेको । बैठकबाट बाहिर निस्कँदै भन्नुभयो, ‘नाति अमेरिकाबाट घुम्न आएको थियो । मशाल जुलूसमा साइकल ठोकायो भनेर एउटा माओवादीले एक थप्पड हिर्कायो अरे । फोनमा पनि रुँदै थियो, बिचरा !’

हतार हतार यति बताएर उहाँले ‘लौ त’ भन्दै हामीलाई बिदा गर्नुभयो र हामी भन्दा अघि कार स्टार्ट गरेर बाहिरिनुभयो । कुकुर फेरि भुक्न थाल्यो । कम्पाउन्ड बाहिर निस्कन लाग्दा मेरा आँखा फेरि एक पल्ट ‘सावधान’ गराउने गेटको सूचनामा परे । त्यसवेला पो हेक्का भयो— त्यसमाथि अगुवाज्यूको नाम अंकित सानो बोर्ड रहेछ ।