प्रधानमन्त्री ओलीले अरुलाई प्रधानमन्त्री बन्न किन नदिएको: प्रधानन्यायाधीश

काठमाडौं, असार १७ : प्रतिनिधिसभा विघटन मुद्दामा बुधबारदेखि प्रधानन्त्री केपी ओलीका निजी वकिलहरूले सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस गरिरहेका छन्।

बिहीबारको इजलासमा सुनुवाइ गर्ने क्रममा ओलीका तर्फबाट प्रतिनिधिसभा विघटनको प्रतिरक्षा गर्न बहसमा उत्रिएका अधिवक्ता परशुराम कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानमन्त्री ओलीले अरुलाई प्रधानमन्त्री बन्न किन नदिएको भनी प्रश्न गरेका छन्।

आफूले विश्वासको मत नपाएपछि आफ्नो दलको समर्थन अरूलाई दिने दायित्व प्रधानमन्त्री ओलीको भए पनि त्यसको निर्वाह नगरिनुको कारण के हो भन्ने प्रश्न प्रधानन्यायाधीश जबराले गरेका थिए। 

‘विश्वासको मत नपाउने स्थिति हुँदा संविधानलाई जिउँदो राख्न अरुलाई समर्थन गर्ने प्रधानमन्त्री ओलीको दायित्व होइन र’ भनेर पनि उनले प्रश्न गरेका थिए।

‘विश्वासको मत नपाउँदा पार्टी नेताको हैसियतले १ सय २१ सांसदको समर्थन अरूलाई दिएर सरकार बनाउने दायित्वबाट प्रधानमन्त्री किन विमुख हुनुभयो ?’ प्रधानन्यायाधीश जबराले भने।

सर्वोच्च अदालतले यसअघि नै संसद विघटन ठीक भएन भनी आदेश दिइसक्दा प्रधानमन्त्री ओली किन फेरि त्यही बाटोतिर गएको भन्ने सवाल पनि उनले उठाएका थिए।