स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली युरो कपको फाइनलमा

काठमाडौं, असार २३ : स्पेनलाई टाइब्रेकरमा पराजित गर्दै इटाली युरो कपको फाइनलमा प्रवेश गरेको छ। 

मंगलबार राति वेम्बलीमा भएको खेलमा स्पेनलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै इटाली फाइलनमा प्रवेश गरेको हो। निर्धारित ९० मिनेट र त्यसपछि अतिरिक्त ३० मिनेटको समयमा १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा निर्णय गरिएको थियो। 

टाइब्रेकरमा इटालीका लागि फेडेरिको बेन्टान्कुर, आन्द्रे बेलोट्टी, जर्जिन्हो र लियोनार्दो बोनुचीले गोल गरे भने म्यानुअल लोकाटेलीको प्रहार स्पेनका किपर उनाइ सिमोनले रोकेका थिए।

स्पेनका जेरार्ड मोरेनो, थिएगो अल्कान्टारले गोल गर्दा अल्भारो मोराटाको प्रहार इटालीका किपर जियानलुइजी डोनारुमाले रोकेका थिए भने ड्यानी ओल्मोको प्रहार बाहिरिएको थियो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ६०औं मिनेटमा फेडेरिको चिएसाले उत्कृष्ट गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाए। उनले किरो इमोबिलको पासमा गोल गरेका थिए। ८०औं मिनेटमा अल्भारो मोराटाले ड्यानी ओल्मोको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। 

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि थप गरिएको ३० मिनेटको समयमा कुनै गोल नहुँदा खेल पेनाल्टीमा पुगेको थियो। त्यसअघि दुवै टिमका खेलाडीले गोलका केही अवसर गुमाएका थिए। 

स्पेनका अल्भारो मोराटा, मिकेल ओयासाबेलले गोलका निश्चित अवसर खेर फाले भने केही प्रहार इटालीका किपरले बचाए। यस्तै, इटालीका फेडेरिको चिएसा, निकोलो बरेलालगायतले पनि सुन्दर अवसर खेल फाले।

यो जितसँगै इटालीले सन् २०१२ को युरो कप फाइनलमा पाएको हारको बदला पनि लिएको छ। त्योबेला इटाली स्पेनसँग ४–० ले पराजित भएको थियो। 

इटाली ठूला प्रतियोगितामा १० पटक फाइनल पुगेको हो। इटाली ६ पटक विश्वकप र ४ पटक युरोकप फाइनल पुगेको छ।