माओवादी केन्द्र खारेजी माग गर्दै निर्वाचन आयोगमा निवेदन

काठमाडौं, असार २३ : काठमाडौँ एमालेका केही नेताले आफ्नो पूर्वपार्टी माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।
आज (बुधबार) आयोगको कार्यालयमै पुगेर माओवादी केन्द्रका पूर्वनेता लीलबहादुर थापासहितले माओवादी केन्द्र अवैधानिक भएको भन्दै खारेजीको माग गर्दै निवेदन दिएका हुन्।
माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका रामबहादुर थापा ‘बाद’, टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, लेखराज भट्ट, लीलाबहादुर थापा, रामचन्द्र मण्डल, दधिराम न्यौपानेलगायत माओवादी केन्द्र खारेजीको माग गरेका हुन्। निर्वाचन आयोग स्रोतले नेताहरु निवेदन लिएर आएको जानकारी दिएको छ।
माओवादी केन्द्र अवैधानिक, असंवैधानिक रहेको दाबी उनीहरूले गरे। त्यसैले सो पार्टीको खारेजीका लागि आफूहरूले निवेदन दिन लागेका उनीहरूको भनाइ थियो।
नौ वर्ष बित्न लाग्दा पनि महाधिवेशन नगरेको र पार्टी एकता गरिसकेपछि आयोगमा दर्ता पनि नगरेकाले माओवादी केन्द्र अवैधानिक पार्टी भएको जिकिर उनीहरूले गरे।
अवैधानिक पार्टीले आफूहरूमाथि गरेको कारबाही पनि अवैधानिक भएको उनीहरूले बताए।
एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रले ती नेताहरूलाई सांसद पदबाट मुक्त गराउनुका साथै पार्टीबाट निष्कासनसमेत गरेको थियो।
प्रतिनिधिसभा पुनःस्थापना भए आफूहरूलाई सांसद पदबाट हटाउने निर्णयविरुद्ध सर्वोच्च अदालत पनि जाने पनि ती नेताहरूले बताएका छन्।
