बेलायती खर्बपति ब्रान्सन आइतबार यात्रुसहितको जहाज लिएर पृथ्वीको सतहबाट ८८ किलोमिटर माथि अन्तरिक्षमा १७ मिनेट उडेर फर्किएकाछन्

बेलायती खर्बपति रिचार्ड ब्रान्सन आइतबार ६ यात्रुसहितको जहाज लिएर पृथ्वीको सतहबाट ८८ किलोमिटर माथि अन्तरिक्षमा १७ मिनेट उडेर फर्किएकाछन्। समाचार संस्था रोयटर्सका अनुसार  उनले १७ वर्षअघि स्थापना गरेको कम्पनीले बनाएको भर्जिन गालाक्टिक रकेट प्लेनमा ६ जना मानिस सवार थिए।

अमेरिकाको न्यु मेक्सिको राज्यको मरूभूमिमा रहेको स्पेसपोर्टबाट ६ जना चढेको उक्त रकेट प्लेन उडेको थियो। उडानको केही समयपछि ब्रान्सनले ‘नयाँ युगको बिहानीमा स्वागत छ’ भनेर ट्वीट गरेका थिए। अन्तरिक्षमा हुँदा पनि उनले लाइभ भिडिओ देखाएका थिए। पृथ्वीको सतहभन्दा निकै माथि पुगेपछि जहाजमा रहेकाहरू झन्डै चार मिनेटसम्म तैरिएका थिए।  गुरूत्व बल नभएका कारण त्यहाँ उनीहरूले तैरिएको महशुस गरेका हुन्।



लामो प्रतीक्षा गरिएको यो उडान उक्त जहाजको यात्रुसहितको पहिलो उडान हो। यो उडान झन्डै एक घन्टाको थियो। जहाजमा चढ्नुअघि उनी साइकल चढेर स्पेसपोर्टमा पुगेका थिए र त्यहाँ उपस्थितहरूलाई  हात हल्लाउँदै अभिवादन गरेका थिए। त्यहाँ उपस्थित भएकाहरू स्पेस इन्डस्ट्रीका अधिकारीहरू, भावी यात्रुहरू र शुभचिन्तक थिए। टेस्लाका सिइओ एलन मस्क पनि तीमध्ये एक थिए।

यसअघि ब्रान्सनले मस्कसँगको तस्बिर ट्वीट गरेका थिए। मस्कको स्पेस एक्सले यात्रु बोकेर पहिलो पटक आउने सेप्टेम्बरमा अन्तरिक्षको उडान गर्ने तयारी छ।

अर्का अमेरिकी अर्बपति जेफ बेजोसको कम्पनीले बनाएको न्यु सेफर्ड रकेटले केही दिनमै अन्तरिक्षको उडान भर्दैछ। ब्रान्सनको उडानअघि बेजोसले उनलाई सामाजिक सञ्जालमार्फत् सफल यात्राका लागि शुभकामना दिएका थिए।