टोखाका सिकाइ केन्द्रमा ‘निःशुल्क इन्टरनेट सेवा’


टोखा नगरपालिकाले विद्यार्थीको सिकाइ सहज बनाउनका लागि ‘निःशुल्क इन्टरनेट सेवा’ प्रदान गरेको छ । विश्वका विभिन्न मुलुकसँगै नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द रहेको अवस्थामा इन्टरनेटको माध्यमबाट पठनपाठन गराउनका लागि टोखाले ‘निःशुल्क इन्टरनेट सेवा’ प्रदान गरेको हो ।

नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले जालुपा पुस्तकालय बानियाटार, नुज्ज पुस्तकालय टोखा, झोर–महाङ्काल सामुदायिक सिकाइ केन्द्र झोर, जनचेतना महिला विद्यालय टोखा–९ र बुद्ध नमूना वैकल्पिक विद्यालय टोखा–१० मा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिएको राससलाई जानकारी दिनुभयो । “इन्टरनेट जडानसँगै घरमा इन्टरनेट सेवाको पहुँच नभएका विद्यार्थीलाई अध्ययनका लागि सहज हुने गरेको छ”, उहाँले भन्नुभयो,“टोखाले आगामी वर्षको लागि शैक्षिक क्यालेण्डरसमेत प्रकाशनमा ल्याएको छ ।

यस्तै, टोखाले आगामी आर्थिक वर्षमा प्राविधिक विद्यालय स्थापनका लागि पहल गर्ने बताएको छ । नगरपालिकाले आव २०७८÷७९ नीति, कार्यक्रम तथा बजेटमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई कलेज तहसम्म स्तरोन्नति गर्ने बताइएको छ । टोखाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाको लागि ‘मेयर दिवा खाजा कार्यक्रम’ लाई निरन्तरता दिने बताएको छ । ‘सबैका लागि गुणस्तरीय शिक्षा’ नीति अवलम्बन गरेको टोखाले एक वडा एक सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत सबै किशोरीलाई सेनेटरी प्याड निःशुल्क उपलब्ध गराउने समेत जनाएको छ ।

वाग्मती प्रदेश सरकारले गत आवदेखि नै शुरु गरेको ‘एक विद्यालय, एक नर्स कार्यक्रम’लाई आगामी वर्षमा थप विस्तार गरेकोमा आवश्यक सहजीकरण गरी सामुदायिक विद्यालयमा आलोपालो हेर्ने व्यवस्था मिलाउने सो नगरपालिकाले जनाएको छ । टोखामा हाल ८ सामुदायिक विद्यालय रहेका छन् । यस्तै, ८० वडा संस्थागत र ३ वटा वैकल्पिक विद्यालय रहेको शिक्षा शाखा प्रमुख गौतमले बताउनुभयो ।