गर्ने–गराउने उनै हुन् !

‘के भन्नु हजूर ! सबै कार्यालय १० बजे नै खुल्छन् । कार्यालय समयमा नगएर कति वेला जाने त ? आखिर बिजुली, पानी, टेलिफोन आदिको पैसा तिर्न, बच्चाहरूको फीस बुझाउन, लाइसेन्स नवीकरण गर्न त जानैपर्यो ! अरू त अरू, बजार पनि शनिवारै बन्द हुन्छ, अनि त किनमेल पनि कार्यालय खुल्ने दिनमै नगरी सुख्ख ?’


‘सुब्बा साहेब खोइ ?’

‘बैंक जानुभा’छ । पैसा झिक्न ।’

‘खरदार साहेब नि ?’

‘बिजुलीको पैसा तिर्न भनेर भर्खर निस्कनुभो ।’

‘लेखापाल साहेब पनि देखिनुहुन्न नि । उहाँ खोइ ?’

‘उहाँ ? उहाँ पनि बाहिर जानुभा’छ । टेलिफोनको पैसा तिरेर आउने रे !’

‘अनि नरेश ?’

‘पानीको पैसा तिर्न ढीलो भो, जरिमाना लाग्ने भो भनेर हतारिंदै जानुभा’छ ।’

‘सहायक लेखापाल नि ?’

‘उहाँ पनि हाजिर गरेर निस्कनुभो । हुलाकमा काम छ रे ।’

‘हाकिम साहेबको पी.ए. चाहिं आइपुग्नुभएकै छैन कि ?’

‘होइन, उहाँ चाहिं बच्चाहरूको फीस तिरेर चाँडै आउँछु भनेर जानुभो ।’

‘किन, आज हाकिम साहेब आउनुहुन्न र ?’

‘आज बजारमा किनमेल छ रे । त्यो सकेर तीन बजेतिर आउँछु भन्नुभा’छ ।’

‘हो र ? तर गाडी त यहीं बाहिरै छ नि ?’

‘ड्राइभर लाइसेन्स नवीकरण गर्न भनेर ट्राफिक प्रहरीको अफिसमा ग’को छ । त्यसैले ।’

बडो रमाइलो संवाद थियो त्यो । तर सोध्नेले सोधेपछि जवाफ दिनेले त्यति सजिलै जवाफ दिन थालेको चाहिं थिएन । पहिले ऊ कतैबाट कोही छड्के लिन पो आएको हो कि भनेर तर्सेको थियो । पछि सोध्ने मानिस पत्रकार हो भन्ने थाहा पाएपछि छापिएला कि भनेर डराएको थियो । अन्त्यमा ‘नछाप्ने’ भनेर विश्वास दिलाएपछि मात्र उसको मुख खुलेको थियो ।

सोध्ने व्यक्तिले प्रश्न थप्यो, ‘यसरी कार्यालय समयमा आ–आफ्नो व्यक्तिगत काम लिएर मानिसहरू बाहिर जाँदा कसैले केही भन्दैन ?’

‘के भन्नु हजूर ! सबै कार्यालय १० बजे नै खुल्छन् । कार्यालय समयमा नगएर कति वेला जाने त ? आखिर बिजुली, पानी, टेलिफोन आदिको पैसा तिर्न, बच्चाहरूको फीस बुझाउन, लाइसेन्स नवीकरण गर्न त जानैपर्यो ! अरू त अरू, बजार पनि शनिवारै बन्द हुन्छ, अनि त किनमेल पनि कार्यालय खुल्ने दिनमै नगरी सुख्ख ?’

‘तर कसैले केही भन्दैन त ?’

‘सबैले जानुपर्छ । कसले के भन्ने ? कहिलेकाहीं छड्के आउँछ कि भन्ने डर हो । त्यो पनि छड्के आउनु भन्दा एक दिन अघि नै हाकिम साहेबलाई फोन आउँछ । अनि उहाँले हामीलाई सतर्क गराइहाल्नुहुन्छ । भोलिपल्ट हामी सबै दिनभरि कार्यालयमै बस्छौं ।’

‘कुनै दिन फोन नगरी झुक्याएर आयो भने नि ?’

‘त्यसवेला त आपत पर्छ । मेरो एक जना साथीको पोहोर जागिरै गयो । तर गर्ने के ? यस्ता कार्यालयहरू डेढ–दुई घण्टा अगावै खुल्ने व्यवस्था भए पो ! हाजिर भएर टाप नकसी सुखै छैन । हामी मात्र हो र, हरेक कार्यालयको गति उही त हो नि !’

‘साँच्चि, त्यो कोठामा अर्का सुब्बा साहेब पनि बस्नुहुन्थ्यो । उहाँ चाहिं कता जानुभयो ?’

‘उहाँ सञ्चय कोषको हिसाब–किताब मिलाउन भनेर जानुभ’को छ । खोइ के–के मिलेन भनेर हिजो चिठी आ’को थियो ।’

‘अनि उहाँसँगैको कुर्सीमा बस्ने अर्का खरदार साहेब नि ?’

‘उहाँ पनि बीमा संस्थान जानुभ’को छ । बीमाको कागजपत्रमा के हो कुन्नि, गडबडी भ’को छ रे !’

‘होइन, कर्मचारीको सञ्चय कोष र बीमाको काम त कार्यालयकै कर्मचारी प्रशासनले गर्ने होइन र ?’

‘हुन त हो, तर हिजो कर्मचारी प्रशासनकै हाकिमले ‘आफैं गएर मिलाएर आउनोस्, कार्यालयबाट गर्दा ढीलो हुन्छ’ भन्नुभ’को थियो । त्यसैले उहाँहरू दुवै जना हाजिर गरेर हिंड्नुभो ।’

‘यसरी कार्यालयको काम कसरी चल्छ ?’

‘खास कामै के छ र हजूर ! आजसम्म चलेर आ’कै छ । पछि पनि चलिहाल्ला नि ! अस्ति पुराण भन्दा पण्डित बाजे भन्नुहुन्थ्यो— मानिसले गर्छु भनेर केही हुँदैन । सब भगवानको लीला हो । गर्ने–गराउने उनै हुन् !’

‘तपाईं पनि त राम्रै पदमा हुनुहुन्छ । तपाईंलाई के कति काम गर्न भनेर खटाइएको छ ? यस वर्षभरिमा तपाईंले कति काम गरिसक्नुपर्ने हो ?’

‘त्यस्तो त आजसम्म मैले केही थाहा पा’को छैन । कार्यालय आयो, हाजिर ग¥यो, अगाडि आएको काम ग¥यो, सकियो । आए जति काम मन लाग्दा गरिएकै छ, अरू के गर्नु ? अरू कार्यालयमा काम गर्ने साथीहरू पनि त यस्तै गर्छन् । काम जिम्मा दिइएको भए बिहान–बेलुका किन यसरी बोर हुनुपथ्र्यो ?’

‘किन ? बिहान–बेलुका कुनै काम हुँदैन र ?’

‘के हुनु ? कार्यालयको काम घर लगेर गर्ने कुरो आएन, अरू काम गर्न पाइने नियम छैन । अरू काममा त ‘साहित्यिक गतिविधिमा भाग लिन’ मात्र पाइने रे ! कविता, कथा लेख्न आफूलाई आउँदैन । त्यसो हुँदा बिहान–बेलुका पप्लु खेल्यो, नर्सिङट्वाँक लगायो, बितायो । सबैको ताल यही त हो नि !’

‘सधैं यसरी बस्नु राम्रो हो त ?’

‘होइन नि । तर अरू उपाय नै के छ ? उही डेविडले भन्थ्यो नि… !’

‘को डेविड भनेको ? के भन्थ्यो उसले ?’ 

‘डेविड पूर्व जर्मनीबाट नेपाल आ’को थियो । छ महीना बसेर गयो । मसँग खूब मिल्थ्यो । कट्टर कम्युनिस्ट हुँ भन्थ्यो । छ महीना नेपाल घुमेर फर्कन लाग्दा उसलाई पुर्याउन म विमानस्थल ग’को थिएँ । मैले सोधें— डेविड, तिमीलाई नेपालमा सबै भन्दा बढी कुन कुराले प्रभावित पार्यो ?’

‘उसले के भन्यो त ?’

‘उसले भन्यो— भगवान्ले । म पहिले पूरै नास्तिक थिएँ । भगवान्, ईश्वर जस्ता कुरामा मेरो पटक्कै विश्वास थिएन । तर मैले यहाँ आएर जुन जुन कार्यालयमा हेरें, त्यहाँ सब तिमी जस्तै मानिस मात्र पाएँ । अर्थात्, कसैलाई पनि आफ्नो लक्ष्य र उद्देश्य’bout थाहा छैन, ऊ किन कार्यालय जान्छ भन्ने पत्तो छैन, उसले गर्नुपर्ने के हो र कहिलेसम्ममा कुन कुरो गर्नुपर्छ भन्ने कुनै अत्तोपत्तो छैन । तर देश बडो मजासँग चलिरहेछ ।’

‘यसले के भयो अरे त ?’

‘डेविड भन्थ्यो— यो देखेर मलाई ईश्वरको सत्तामाथि विश्वास जाग्यो । ओहो ! ईश्वर नभए र ईश्वरले नै सञ्चालन गर्ने नभए तिमीहरूको देश कसरी चल्थ्यो ? मान्छेले गर्दा मात्र केही हुने भए त तिमीहरूको जस्तो तालले धेरै अघि नै सारा कामकुरो भताभुंग भइहाल्थ्यो नि ! त्यसो हुँदा हेर भाइ, म अब पूरै बदलिएर आस्तिक भएको छु । आफ्नो देशमा गएर नास्तिक साथीभाइहरूलाई ईश्वरको सत्ता’bout आत्मविश्वासका साथ, उदाहरण सहित बताउनेछु ।’

‘हो र ? त्यसले साँच्चै त्यसो भनेकै हो ?’

‘किन होइन त ? पत्यार लाग्दैन भने ऊसँग पत्र–व्यवहार गरी हेर्नोस् न ! भागेर पश्चिम जर्मनीतिर गएको रहेनछ भने जवाफ पाइहाल्नुहुन्छ नि । यी ठेगाना… !’

गोरखापत्र २०४६ कात्तिक २८ गते सोमवार

………………………………

पूर्वस्मृति : (निको भैसकेको पुरानो त्यो घाउ, अनायास नै फेरि बल्झेर दुख्छ

भने जस्तै) …………

पञ्चायतकालमा, त्यो पनि गोरखापत्रमै यति लेखेपछि के चाहियो र !

राजाले केही गर्न सकेन भनेर श्री ५ महाराजाधिराज सरकारमाथि ठाडै व्यंग्य गर्योभनेर मेरो त के, झन्डै सम्पादक (बालमुकुन्ददेव पाण्डे) कै समेत जागीर खाइदिएका !

वस्ती