विश्वकै धनी जेफ बेजोस पनि आफ्नै रकेटमा अन्तरिक्ष घुमेर फर्किए

काठमाडौं, साउन ६ : तपाईंसँग अथाह पैसा भयो भने के गर्नुहुन्छ? अथवा, तपाईं विश्वकै धनी व्यक्ति बन्नुभयो भने कहाँ घुम्न जानुहुन्छ?

विश्वकै सर्वाधिक धनी व्यक्ति हुन्, अमेजनका मालिक जेफ बेजोस। उनी भर्खरै आफ्नै रकेटमा अन्तरिक्ष पुगेर आएका छन्। यो उनले धनी भएपछि बनाएको शोख भने होइन। धेरै पुरानो रहर हो।

अमेरिकाको पश्चिम टेक्सासबाट उनी आफ्नो निजी कम्पनीको रकेटबाट अन्य तीनजना व्यक्तिसहित अन्तरिक्ष पुगेर आएका हुन्। बेजोसको आफ्नै रकेट कम्पनी छ, ब्लू ओरिजिन।

‘मेरो जीवनकै सर्वोत्कृष्ट दिन’, रकेटबाट झरेपछि बेजोसले प्रतिक्रिया दिए। ब्लू ओरिजिनले निर्माण गरेको रकेटमा उनी अन्तरिक्ष पुगेर आएका हुन्। १०० किलोमिटरभन्दा केही माथि आकाशमा पुगेर आएका थिए, बेजोस।

२० वर्षअघि स्थापना भएको ब्लू ओरिजिनले गरेको मानवसहितको यो पहिलो रकेट प्रक्षेपण थियो। कम्पनीले गरेको पहिलो मानवसहितको उडानमै आफु अन्तरिक्षमा जानुले बेजोसको ब्लू ओरिजिनप्रतिको लगाव र विश्वासलाई दर्साउँछ।

मंगलबार साँझ ७ः१५ मा बेजोससहित चारजना अन्तरिक्ष पुगेर पृथ्वीमा ओर्लिएका हुन्। उनीहरुले न्यू सेफर्ड नामक रकेटमा यात्रा गरेका थिए। एलन सेफर्डको सम्मान सो रकेटको नामाकरण गरिएको हो। अन्तरिक्षको अलौकिकता भनेको ‘वेटलेसनेस’ हो। अर्थात् गुरुत्वाकर्षण शक्ति नहुनु। बेजोसको टिम सिटबेल्ट खोलेर चार मिनेट जति रकेटभित्र हावामा तैरिएको थियो।

‘हामी सबै खुशीले पुलकित भएका छौं’, रकेट पृथ्वीतर्फ फर्किन थालेपछि बेजोसले माथिबाट भनेका थिए।

उनीहरुको यात्रा १० मिनेटको मात्र थियो। लगभग १०० किलोमिटरभन्दा माथि गएपछि बाहिरी अन्तरिक्ष सुरु हुने मानिन्छ। उनीहरु बाहिरी अन्तरिक्षमा केही समय बिताएर फर्किएका हुन्।

वास्तवमा अन्तरिक्षयात्रा उनको निकै पूरानो सोच हो। अन्तरिक्ष यात्राप्रतिको उनको लगाव देखेर धेरैले उनी अब अमेजनको जिम्मेवारी अरुलाई नै दिएर ब्लू ओरिजिनमा केन्द्रित हुने आकलन पनि गर्न थालेका छन्।

उनकै नेतृत्वमा अमेजन विश्वकै अर्थतन्त्रको केन्द्र बन्न सफल भएको थियो। 

यसअघि बेलायती धनाढ्य रिचार्ड ब्रानसनले आफ्नै खर्चमा अन्तरिक्षको यात्रा गर्ने पहिलो व्यक्ति बनिसकेकाछन्।