प्रधानमन्त्री देउवाले प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई नियुक्त गर्न निर्देशन, हितेन्द्रदेवलाई राजीनामा दिन सरकारको आग्रह
काठमाडौं, साउन १९ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् ।
एमाले अध्यक्ष केपी ओलीको सरकारको पालामा उनी प्राधिकरण प्रमुखबाट बिदा भएका थिए । ‘उज्यालो अभियान’का प्रणेता घिसिङको नियुक्तिबाट प्राधिकरणले थप फड्को मार्ने माग केही दिनयता सामाजिक सञ्जालमा गरिँदै आएको थियो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन सरकारले आग्रह गरेको छ ।जलस्रोत, ऊर्जा तथा सिँचाइमन्त्री पम्फा भुसालले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउबाको उपस्थितिमा अहिलेसम्मको कार्यसम्पादन पनि सन्तोषजनक नभएकाले पदबाट हटेर सहयोग गर्न शाक्यसँग आग्रह गरेको स्रोतले जनाएको छ ।

