कक्षा १२ को परीक्षा स्थगित

काठमाडौं, साउन २३ : राष्ट्रिय परीक्षा बोर्डले यही साउन २९ गतेदेखि गर्न लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको छ।
बोर्डको शनिबार बसेको बैठकले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै यही साउन ३१ देखि आगामी भदौ ९ गतेसम्मका लागि निर्धारण गरेको कक्षा-१२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हाे।
कोरोना महामारीले निम्त्याएको जटिल परिस्थिति अनुकूल भएपछि फेरि परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएकाे छ। फेरि गरिने परीक्षाका लागि १५ दिनअगावै जानकारी दिने बोर्डको भनाइ छ।
खासगरी परीक्षा हुनुभन्दा एक महिनाअघि सूचना दिने प्रचलन थियो।
गत सोमबार ‘सार्वजनिक स्वास्थ्य र महामारी नियन्त्रण’bout नीतिगत प्रतिबद्धता र कार्ययोजना’ सार्वजनिक गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड-१९ को तेस्रो लहरको जोखिम बढ्दै गएको सन्दर्भमा निकट भविष्यमा सञ्चालन हुन गइरहेका परीक्षासम्बन्धी कार्यक्रम स्थगन गर्ने प्रस्ताव गरेका थिए।
स्थगन हुने परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्ब उचित निर्णय लिइने पनि राज्यमन्त्री श्रेष्ठले बताएका थिए।
सोहीबमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई परीक्षा स्थगनका लागि सिफारिस गरेको शुक्रबार पनि राज्यमन्त्री श्रेष्ठले जानकारी दिएका थिए। सिसिएमसीले सो विषयमा बोर्डलाई पत्राचार गरेको थियो।
विद्यार्थीले होम सेन्टरबाटै एक विषयको १०० पूर्णांकको परीक्षा लिने निर्णय बोर्डले गरेको थियाे। गत वर्ष पनि कोरोना महामारीकै कारण निर्धारित समयमा परीक्षा हुन सकेको थिएन। पछि बोर्डले मंसिरमा भौतिक उपस्थितिमा ५० पूर्णांकको पूरक परीक्षा लिएको थियो।
यसपालि जेठ २६ का लागि तय भएको कक्षा-१२ परीक्षा पनि दोस्रो लहरको कोरोना संक्रमणका कारण स्थगित भएको थियो। पछि साउन ३१ का लागि परीक्षा ताेकिएकाे थियाे।
विभिन्न सरोकारवाला व्यक्ति तथा सरुवा रोग विशेषज्ञहरूले कोरोना महामारीको जोखिम उच्च बन्दै गएकाले अन्य विकल्प अपनाएर भौतिक उपस्थितिमा परीक्षा गर्न नहुने सुझाव दिँदै आएका थिए।
