सिद्धान्त कि सम्प्रदाय ?

कुम्लो बोकी ठिमीतिर / गाईजात्रा विशेष

दुईचोटि गुल्टेर तेस्रो चोटिमा एसएलसी पास गरेपछि ऊ गाउँबाट काठमाडौं आयो । सहपाठिनी कमरेडहरूसँग चाँडै हिमचिम बढेकाले, गाउँमा जस्तो फुक्का नभए पनि, बेलाबखत ‘क्रान्ति’ गर्न त उसलाई खासै समस्या परेन, तर जीउ पाल्न भने गाह्रो हुँदैआयो । वर्षमा एक–दुईचोटि घर जाँदा बाबुले दिएको पैसा हात्तीको मुखमा जीरा हुन्थ्यो । पार्टीनेताहरू भाषण मात्र गर्थे र टाठाबाठा दाइ कमरेडहरू घर ठड्याउन व्यस्त थिए, उसलाई कसैले वास्ता गर्दैनथ्यो । यस्तै वेला एक जना ईसाई धर्म व्यवसायीसँग उसको सम्पर्क भयो र उनकै सल्लाह अनुसार ऊ ईसाई बन्यो ।

दशैंमा घर जान लागेका साथीहरूलाई पुर्याउन बसपार्क पुगेको जगते अन्यमनस्क भएर डेरा फर्कियो । हुन त ऊ दशैंमा घर जान छाडेको चार वर्ष भइसकेको थियो, तर हरेक वर्ष दशैं–तिहार आउँदा उसको मन कता–कता घरतिर खिचिइहाल्थ्यो । त्यसमाथि बसपार्कमा एउटा साथीले ‘हामी पुग्दा जमरा टुसाइसकेको हुन्छ होला’ र अर्काले ‘अब त पीङ पनि हालिसके होलान्’ भनेपछि उसलाई गाउँघरको सम्झनाले बढी नै विचलित पारेको थियो ।

जगते राति अबेरसम्म कोठामा एक्लै टोलाइरह्यो । बिहान उठ्ता पनि उसको मन चंगा थिएन । तैपनि नुहाइधुवाइ गरेर र पसलमा चिया खाएर ऊ चर्चतिर लाग्यो, जहाँ ऊ जस्ता सयौं नेपालीहरू भेला भैसकेका थिए । रंगीचंगी लुगा लगाएका, हँसिला र फरासिला । धेरैसँग हात मिलाएर उसले अभिवादन साटासाट गर्यो र सामूहिक प्रार्थनामा बस्यो । सबै गाउन थाले । उसको मन चाहिं अर्कैतिर दौडिरहेको थियो…

१०–१२ वर्ष अघि, कुर्कुरे बैंस चढ्दा नचढ्दै, ऊ राति–राति ‘मीटिङ’ मा जान थालिसकेको थियो । त्यहाँ कमरेडहरूले क्लास लिन्थे, सच्चा कम्युनिस्ट कार्यकर्ता कसरी बनिन्छ भनेर व्याख्या गर्थे, काममा जोत्थे र भन्थे— धर्मकर्म, चाडपर्व, देवीदेउता, जातपात र उँचनीच सबै बुर्जुवा कुरा हुन् । यी जनविरोधी प्रतिक्रियावादी परम्परा हुन् । हामीले यस्ता बन्धनहरू चुँडालेर मुक्त हुनुपर्छ । क्रान्तिको शुरूआत यहींबाट गर्नुपर्छ; आफू–आफूबाट, आ–आफ्ना घरबाट ।

कमरेडहरूको भूमिगत तालीमले ऊ र ऊ जस्ता गाउँले ठिटाठिटीहरूको दिमागलाई पूरै एकोहोर्याएको थियो । बुर्जुवा मान्यतालाई ढाल्न उनीहरू कहिले घरबाट कुनै देउताको फोटो ल्याउँथे र सबैका सामु च्यातेर खुट्टाले किचिमिची पार्थे त कहिले जंगलमा अन्तर्जातीय यौनसम्बन्ध कायम गर्थे । देउताको फोटो त घरभरिमै दुई–चारवटा भन्दा बढी नहुने भएकाले बारम्बार ल्याइरहन सकिंदैनथ्यो, तर क्रान्तिकारी यौनसम्बन्ध राख्न त्यस्तो कुनै समस्या, कुनै छेकबार थिएन । एक तह उँचो क्रान्तिकारी भइने नशामा लठ्ठिएका ठिटीहरू यौनप्रस्ताव राख्नासाथ मानिहाल्थे । करीब एक वर्षभित्रै गाउँका सबै जातका, थुप्रै ठिटीहरूसँग लसपस गर्न पाउँदा उसलाई क्रान्तिकारी हुनु सारै स्वादिलो काम रहेछ भन्ने लागेको थियो । ऊ सोच्थ्यो— साम्यवाद आएपछि अरू कुरामा पनि यस्तै होला; लाउनेखानेमा, घरखेतमा र धनसम्पत्तिमा पनि !

दुईचोटि गुल्टेर तेस्रो चोटिमा एसएलसी पास गरेपछि ऊ गाउँबाट काठमाडौं आयो । सहपाठिनी कमरेडहरूसँग चाँडै हिमचिम बढेकाले, गाउँमा जस्तो फुक्का नभए पनि, बेलाबखत ‘क्रान्ति’ गर्न त उसलाई खासै समस्या परेन, तर जीउ पाल्न भने गाह्रो हुँदैआयो । वर्षमा एक–दुईचोटि घर जाँदा बाबुले दिएको पैसा हात्तीको मुखमा जीरा हुन्थ्यो । पार्टीनेताहरू भाषण मात्र गर्थे र टाठाबाठा दाइ कमरेडहरू घर ठड्याउन व्यस्त थिए, उसलाई कसैले वास्ता गर्दैनथ्यो । यस्तै वेला एक जना ईसाई धर्म व्यवसायीसँग उसको सम्पर्क भयो र उनकै सल्लाह अनुसार ऊ ईसाई बन्यो ।

ईसाई बनेपछि केही दिन त जगते अलमल्ल पर्यो । हरेक आइतवार चर्च जान पनि उसलाई झ्याउ लाग्थ्यो । तर ‘प्रभुको कृपा’ भनेर महीनैपिच्छे ‘पकेटमनी’ पाउने गरेकाले चर्च जान उसले कहिल्यै टुटाएन । एक वर्ष पछि तिनै धर्म व्यवसायीको सल्लाह बमोजिम ऊ आफ्ना साथीभाइलाई पनि ईसाई बनाउने काममा लाग्यो । एउटालाई ईसाई बनाए बापत २५ हजार रुपैयाँ उसको हातमा पथ्र्यो । वर्षभरिमा चार–पाँचवटा मात्र शिकार भेटे पनि खर्च टन्नै पुग्न थालेपछि उसले पकेटमनी लिन छोड्यो र घर जान पनि…

प्रार्थना सकिएछ, पादरीले धर्मोपदेश शुरू गरे । जगतेलाई चाहिं गाउँको मीटिडमा कमरेडले क्लास लिएजस्तो लाग्यो । यहाँ पादरीले भनेको कुरालाई आँखा चिम्लेर अन्तिम सत्य मान्नुपर्छ, त्यहाँ कमरेडका कुरालाई अन्तिम सत्य मान्नुपथ्र्यो । पादरी पनि अरूका कुरालाई धोखा, भ्रम र झूट भन्छन्, कमरेड पनि त्यसै भन्थे । पादरी हाम्रो धर्म, परम्परा र संस्कृतिलाई तथानाम गाली गरेर त्यसबाट मुक्त हुनुपर्छ भनेर उक्साउँछन्, कमरेडहरू पनि ठ्याक्कै त्यसै गरी उक्साउँथे । पादरी ‘यी देउताले के लछार्न सक्छन् ?’ भनेर ललकार्छन्, कमरेडहरू पनि यिनै शब्द र यस्तै भाकामा चिच्याउँथे । पादरी ईसाई भएपछि सबै दुःखबाट मुक्ति पाइन्छ भन्छन्, कमरेड साम्यवाद आएपछि सम्पूर्ण समस्याको समाधान हुन्छ भन्थे । एयरकन्डिशनर नभई निद्रा नपर्ने पादरी सबै मानिस बराबर हुन् भन्छन्, मासु नभई भात नरुच्ने कमरेडको भनाइ पनि त्यस्तै थियो । यहाँ पनि ‘कन्फेसन’ गरेपछि पापबाट छुटकारा पाइन्छ, त्यहाँ पनि ‘आत्मालोचना’ गरेपछि अपराधबाट मुक्ति पाइन्थ्यो । त्यहाँ बुर्जुवा परम्परा तोड्ने भनेर ठिटीहरूसँग जंगल पसिन्थ्यो, यहाँ पछि प्रभुका सामु कन्फेसन गरौंला भन्ने सल्लाह गरेर डेरा र लजका कोठामा पसिन्छ ।

दुवैतिरको चालचलन एउटै छ, झूटा सपना देखाएर सोझासाझाको दिमाग भुट्ने तरीका एउटै छ, सके फकाएर–लोभ्याएर नत्र तर्साएर–ठटाएर दुनियाँभरि आफ्नो साम्राज्य कायम गर्ने रणनीति एउटै छ । गम्दागम्दै जगतेको दिमाग रन्थनिन थाल्यो— आफ्ना धर्मगुरु, धर्मग्रन्थ र तिनका कुराहरूप्रतिको कट्टरता, अन्धविश्वास र त्यसका निम्ति मर्न–मार्न तम्सिने संस्कार अनि प्रवृत्ति दुवैतिर एउटै छ भने दुई हजार वर्ष पुरानो क्रिश्चियानिटी र करीब सय वर्ष उमेरको कम्युनिज्ममा फरक कहाँनेर छ ? एउटै विशेषता र कमजोरी अनि उस्तै गुण र दुर्गुणले भरिएका दुई ‘अफिम’ मध्ये एउटालाई धर्म अथवा सम्प्रदाय र अर्कालाई चाहिं सिद्धान्त किन भन्नुपर्ने ? क्रिश्चियन सम्प्रदाय र कम्युनिस्ट सम्प्रदायमा अन्तरै के छ ?

ऊ रन्थनिइरहेकै वेला धर्मोपदेश सकियो र अन्तिम प्रार्थना शुरू भयो । एक मनमा जगतेलाई लाग्यो— कमरेडहरू चाडपर्व भनेको वाहियात हो भन्दाभन्दै पनि दशैं नमान भन्दैनथे । त्यसैले जंगलका बुट्यानमा क्रान्ति पनि गरिन्थ्यो, दशैंमा टीका पनि थापिन्थ्यो, नयाँ लुगा पनि लगाइन्थ्यो र पीङ पनि मच्चाइन्थ्यो । यिनीहरू चाहिं दशैं समेत मान्न दिंदैनन् । तात्तो न छारो, योभन्दा त त्यही राम्रो हो कि क्या हो ? तर तत्कालै अर्को मन दरो भएर उभियो— होइन होइन, त्यो धर्म भन्दा त यही धर्म राम्रो, यसैमा फाइदा बढी छ । मोजमजाको पनि दुःख छैन, परिश्रम अथवा बेइमानी केही नगरी कुस्त पैसा पनि गोजीमा परिराखेकै छ । कमरेडहरू एउटाको सम्पत्ति लुटेर अर्कालाई दिने भन्थे, मैले त धर्म मात्रै न लुटेको हुँ । र, एकाएक उसको मन चंगा भयो ।

शुरूमा अन्यमनस्क देखिएको जगते, जसको क्रिश्चियन नाम ज्याक थियो, प्रार्थना सकिंदा प्रफुल्ल भएको देखेर पादरीले प्रभुलाई धन्यवाद दिए । आमीन !

लन्चको व्यवस्था चर्चमै थियो । लन्च पछि जगते उर्फ ज्याक, मालती उर्फ मेरिनासँग दशैंको वेला मजा लुट्न कुन ठाउँ बढी रोमाञ्चक र सुरक्षित होला भन्ने सल्लाह गर्न व्यस्त हुँदोभयो । सो बापत दुई हप्ता पछि एकैचोटि प्रभुसामु कन्फेसन गर्ने उनीहरूको पूर्वसहमति त छँदैथियो !

सिएरा क्याप्टा फको टु

दशैंको मजा लुट्न कुन ठाउँ बढी सुरक्षित होला भन्ने जगते उर्फ ज्याक र मालती उर्फ मेरिनाको चिन्ता अनायास समाप्त भयो । किन भने, जगतेको ‘रूम पार्टनर’ सुन्दरे फूलपातीको भोलिपल्टै एउटी कुइरिनीसँग एक हप्ताका लागि पोखरा हुइँकियो । त्यतिन्जेलका लागि कोठामा जगतेको एकलौटी कब्जा हुनेभयो । धोबीखोला किनारको डाँडामा, चार तला माथि रहेको त्यो कोठामा मध्यदिउसो सबै झ्याल खोलेर कुश्ती खेले पनि कोठाभित्र के भइरहेछ, वरिपरिबाट कसैले देख्तैनथ्यो । जगते र मालतीले दशैंभरि त्यही कोठालाई रोमान्टिक हिल स्टेशन बनाए ।

कोजाग्रत पूर्णिमाका दिन सुन्दरे फर्केपछि भने उनीहरूको पिरोलो फेरि शुरू भयो । उनीहरू जस्ता नयाँ क्रिश्चियनहरूलाई न्यास्रो नलागोस् भनेर चर्चले दशैंदेखि तिहारसम्म ‘शरद सम्मेलन’ को आयोजना गरेको थियो । उनीहरू हरेक बिहान त्यहाँ जान्थे, प्रार्थना गर्थे, लन्च खान्थे र रमाइलो गर्थे । तर, भित्रदेखि नै चिलाएर आउने तिनको सकसक त्यसबाट साम्य हुँदैनथ्यो, बरु झन् रन्केर जाग्थ्यो । फलतः साँझ पर्यो कि सुरक्षित ठाउँ खोज्दै उनीहरू राति अबेरसम्म सडकमा भौंतारिन्थे । तर कहाँ जाने ? न क्याबिन रेस्टुराँ सुरक्षित थियो, न लजको कोठा नै । जहिले पनि प्रहरी आइपुगेर दुःख देला भन्ने डर । पार्कहरूका कुनामा पसौं, हुल्याहाहरू लुछाचुँडी गर्न आइपुग्लान् भन्ने त्रास । पालेलाई फकाएर चर्चको कुनै कोठा खुसुक्क प्रयोग गरौं भने पनि प्रभुकै सामुन्ने अपराध गरेजस्तो लाग्ने, त्यसमाथि ‘फादर’ ले थाहा पाउलान् भन्ने सन्त्रास ।

चार–पाँच दिन यसरी छटपटिंदै भौंतारिएपछि मालती उर्फ मेरिनाले एउटा नयाँ अक्किल निकाली । जगते उर्फ ज्याकलाई पनि त्यसमा चित्त बुझ्यो । उनीहरू राति–राति चिहानघारी जान थाले । साढे दश–एघार बजेतिर लुसुक्क छिर्यो, डेढ–दुई घण्टा ढुक्कसँग रमाइलो गर्यो र लुसुक्क फक्र्यो । न प्रहरीको डर, न हुल्याहाहरूको त्रास, न अरू कसैले देख्ला भन्ने चिन्ता । शुरूमा एक–दुई दिन त उनीहरूलाई कतैबाट भूत आउला–आउला जस्तो, असजिलो–असजिलो जस्तो लाग्यो । तर शान्त, एकान्त र पूर्ण सुरक्षित त्यो वातावरणमा उनीहरूलाई केही दिन भित्रै एकदमै नौलो र रोमाञ्चक अनुभव हुन थाल्यो । त्यो अनौठो अनुभव मेरिनाले आफ्ना दुई जना साथीलाई गोप्य तवरले बताई । अनि तीन जोडीहरू — कहिलेकाहीं आपसमा साटासाट पनि गरेर — चिहानघारीको मजा लुट्न थाले ।

एक रात, रक्सीले ठीक–ठीक भएर एउटा अँध्यारो पेटीमा चुरोट तान्दै बसिरहेको एक जना प्रहरीले उनीहरू चिहानघारी पसेको देख्यो । मध्यरातमा तीन जोडी ठिटाठिटी, त्यो पनि चोरबाटोबाट चिहानघारी छिर्ने ! उसको नशा तुरुन्तै छूमन्तर भयो र ऊ पनि लुसुलुसु तिनका पछि लाग्यो । भोलिपल्ट उसले आफ्नो साथीलाई त्यो विवरण सुनायो, अनि दुवैले मिलेर आफ्नो हाकिम–हवल्दारलाई घटनाको यथार्थ रिपोर्ट गरे ।

रेस्टुराँका क्याबिन र लजहरूमा मात्र होइन, पार्क र बस अड्डाहरूमा पनि कसैलाई ‘रंगेहात’ समात्न नपाएर दशैंदेखि नै खरिएका उनीहरूले त्यसै दिन साँझतिर गहिरो सरसल्लाह गरे । सिनेमाहलको गेटपालेलाई तर्साएर सित्तैंमा हिन्दी सिनेमा हेर्दा हेर्दा दिमाग ‘तेज’ भएको हवल्दारले निकालेको एउटा झक्कड ‘आइडिया’ पास भयो । उनीहरू तीनै जनाले संयुक्त रूपमा त्यो ‘अपरेशन’ सञ्चालन गर्नेभए । माओवादीलाई दबाउन चलाइएको सरकारी अभियानको अनुकरण गर्दै त्यसको नाम राखियो, ‘सिएरा क्याप्टा फको टु’ अर्थात् खोज, पक्र र भ्याऊ । त्यही रात जगतेहरू फर्किएपछि उनीहरू चिहानघारी पसे । बिहान साढे चार बजेतिर बाहिर निस्कँदा तीनै जना पसिनाले नुहाए जस्ता देखिन्थे ।

सधैं झैं त्यस दिन पनि जगते उर्फ ज्याकहरू राति एघार बजेतिर चिहानघारी छिरे । अँध्यारोमा आधा घण्टा जति प्रेमालाप गरेपछि उनीहरू लुगा छोडाएर प्राकृतिक अवस्थामा मात्र के पुगेका थिए, छेउको एउटा चिहान घरक्क उघ्रियो । चिहानबाट भूत निस्क्यो भन्ठानेर उनीहरूको हंसले ठाउँ छोड्यो । वाक्य बस्यो र जीउ लल्याकलुलुक भयो । यसैबीच एउटा रूखबाट फाल हानेर हवल्दारले टर्च बाल्यो र चिहानभित्रबाट दुवै प्रहरीहरू बाहिर आए । हवल्दारले जगते उर्फ ज्याक सहित तीनवटै केटाहरूलाई भर्खरै खुलेको चिहानतिर देखाउँदै आदेश दियो— ‘त्यहाँ पस् !’ केटाहरू लगलग काम्दै भित्र पसे र प्रहरीहरूले चेप्टो ढुंगो सारेर चिहान बन्द गरिदिए । हवल्दार मालती उर्फ मेरिनालाई लिएर त्यही चिहानमाथि चढ्यो । चिहानबाट निस्केका प्रहरीहरूले बाँकी दुइटीलाई समाते । र, ‘अपरेशन सिएरा क्याप्टा फको टु’ को अन्तिम चरण सम्पन्न गर्न थाले ।

दुवै मित्रहरूसँग चिहानभित्र थुनिएको जगते उर्फ ज्याक, चिहानमाथिको चेप्टो ढुंगो हवल्दारको मच्चाइले खल्ट्याङ–खल्ट्याङ गर्न थालेपछि उसलाई सराप्तै प्रार्थना गर्न थाल्यो, ‘यसरी जिउँदै चिहानमा पुरिनुपर्छ भने तपाईंको शरणमा परेको के सार भो प्रभु ! बरु म भोलि नै कन्फेसन गर्छु, तर यी पापीहरूको नर्कवास होस् !’

सत्याग्रह २०५६ असोज २४ + कार्तिक १५ गते सोमवार