प्रदेश १ मा एमालेका १० सांसदद्वारा एकीकृत समाजवादीमा सनाखत

विराटनगर, भदौ १६ : प्रदेश १ मा एमालेका १० सांसद माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा लागेका छन्।
ती सांसदहरु राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङमाङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा हुुन्।
आठ सांसदले प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर एमाले परित्याग गरी एकीकृत समाजवादीमा आफ्नो सनाखत गरिेसकका छन् भने उपेन्द्र घिमिरे र कृष्ण कुमारी राई सनाखत गर्ने पका भइसकेर आयोगको कार्यालय आउँदै गरेको जनाइएको छ।
१० सांसदले एमाले छाडेपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको पद धर्मराएको छ। लामो समयदेखि नेपाल समूह छाडेर अध्यक्ष केपी ओलीतिर ढल्किएका थिए। जसका कारण भदौ १० गते उनी मुख्यमन्त्री नियुक्त भएका थिए। अब उक्त प्रदेशमा एमालेकाे एकल बहुमत नरहको अवस्था बनेकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुपर्ने परिस्थिति बनेकाे छ।
प्रदेश १ सभा ९२ सदस्यीय रहेको छ। तीमध्ये एमालेका ५१ जना छन्। १० जनाले एकीकृत रोजेकाले एमाले ४१ सांसदमा सांसदमा सीमित भएको छ। बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ।
सो प्रदेशमा काङ्ग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टी (जसपा) का तीन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक/एक सांसद छन्।
अब काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) पार्टी मिले मुख्यमन्त्रीविरुद्ध अविश्वासको पेस गरेर नयाँ सरकार गठनको पहल गर्न सक्ने अवस्था सिर्जना भएको छ।
