भदौ २३ देखि संघीय संसद अधिवेशन

काठमाडौं, भदौ १९ : सरकारले भदौ २३ गते संघीय संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ।
बालुवाटारमा आज (शनिबार) बसेको मन्त्रिपरिषद् बैठकले यही भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदन डाक्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
संसद् अधिवेशन बोलाउने निर्णय लिनुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान बालुवाटारमा सभामुख अग्निप्रसाद सापकोटा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए।
यसअघि सरकारको सिफारिसमा गत साउन ३२ गते राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी थिइन्।
