पशु अधिकार आयोग

अध्यक्ष बन्न पुगेको चितुवा मांसाहारी व्यवस्था छँदासम्म शाकाहारीहरूको घाँटी निमोठ्न नामूद थियो । भोकले च्यापेपछि मात्र आहारा खोज्न हिंड्ने पुरानो परिपाटीको ठाउँमा जहिले मन लाग्यो तहिले मांसाहारीहरूले शाकाहारीको शिकार गर्न पाउने कानून उसैले बनाएको थियो । त्यही कानूनको चपेटामा परेर थुप्रै शाकाहारीहरू शहीद भएका थिए । ऊ अहिले मासु नै चपाउन नसक्ने गलितनखदन्त बूढो भइसकेको भए पनि आफ्नो जवानी र जमानाको रसरंग सम्झेर मुख मिठ्याइरहन्थ्यो र बेलाबखत बर्बराइरहन्थ्यो— यो जैरे शाकाहारी व्यवस्थाको उछित्तै होस् !


पशु अधिकार आयोगको गठन नगरी नहुने खण्डखातिर परेपछि पशुपतिहरूको बैठक बस्यो । साना–ठूला, शाकाहारी, मांसाहारी सबै किसिमका पशुहरूका नाइकेहरू कालीवनको एउटा ठूलो रूखमुनि भेला भए । नमस्कारको आदानप्रदान र यथायोग्य आसन ग्रहण पछि बैठक शुरू भयो ।

कालीवनमा पशु अधिकारको चलखेल शुरू भएको झन्डै एक युग बितिसकेको थियो । यसबीच पशु अधिकारको खुद्रा व्यापार गर्ने थुप्रै पसल खुलिसकेका थिए जसको धन्दा बाहिरका ठूलाठूला स्टकिस्टहरूबाट थोकको हिसाबमा पशु अधिकार आयात गरी बिक्री–वितरण गर्नु थियो । व्यापार बढाउन टाँसिएका स्टिकर र पोस्टरहरू, टाँगिएका ब्यानरहरू, उभ्याइएका होर्डिङ बोर्डहरू र  घन्काइएका क्यासेटहरूले कालीवनको वातावरण पशु अधिकारमय बनेको थियो । व्यापार कति सूक्ष्म र मिहीन स्तरमा पुगिसकेको थियो भने स्यालले बाख्राको पाठालाई मार्दा पनि साहुजीहरू स्यालको पशु अधिकारका पक्षमा आन्दोलन उराल्न थाल्थे ।

तर, यति प्रगति भइसक्दा पनि पशु अधिकार आयोगको गठन नभएर दुई पक्षलाई ठूलो मर्का परेको थियो । पहिलो पक्ष साहुजीहरूकै थियो, जसलाई अन्य ठूलठूला जंगलमा रहेका पशु अधिकारका स्टकिस्टहरूले कताकता हियाएर कुरा गर्न थालेका थिए । दोस्रो पक्ष पशुपतिहरूको थियो, जो अरू जंगलका समकक्षी पशुपतिहरूले पशु अधिकार’bout क्रान्तिकारी भाषण गर्दा चुपचाप सुन्नुपर्ने अवस्थामा पुगेका थिए । आयोग नै गठन नगर्नेले पशु अधिकार’bout चर्को भाषण कसरी गर्ने ? बैठक यही समस्या सल्टाउन बसेको थियो ।

बैठकको कारवाही प्रारम्भ हुनासाथ जखमले पशुपतिले भन्यो, ‘आयोग मेरा काकाको अध्यक्षतामा गठन गर्नुपर्छ । कालीवनमा मांसाहारी व्यवस्था विस्थापित भएपछि शाकाहारी व्यवस्थालाई संवैधानिक पोशाक दिलाउन उहाँले अतुलनीय भूमिका खेल्नुभएको छ । त्यसैले यो व्यवस्था र पशु अधिकारको मर्मलाई उहाँले जति अरू कसैले आत्मसात् गर्न सक्तैन ।’

उसको कुरो टुंगिन नपाउँदै तीखे पशुपति च्याँठ्ठियो, ‘यो कदापि हुन सक्तैन । तिम्रो काकालाई हामी आयोगको अध्यक्ष मान्न तयार छैनौं । पोहोर साल तिनले हाम्रो भाग खोसेर तिमीलाई दिएका होइनन् ? त्यस्तालाई कसले अध्यक्ष बनाउँछ ? अरू जोसुकैलाई ल्याऊ, तर तिम्रो काकालाई चाहिं मरिगए हुँदैन।’

‘कसरी हुँदैन ? को छ मेरा काका जत्तिको शूरो र बुद्धिमान यो जंगलमा ?’

‘लौ त कसरी हुँदो रहेछ ? हामी पूरै जंगलमा डढेलो लगाइदिन सक्तैनौं र ?’

काकावादी र गैर–काकावादीहरूको बकवाद चर्कंदै गएपछि बैठकमा आएका सबै पशुपतिहरू दुई खेमामा बाँडिए । निकै बेरसम्म घनघोर विवाद भयो । अन्ततः, हात हालाहाल हुने अवस्थामा पुगेर काकावादीहरूले आफ्नो अडान त्याग गरे र गैर–काकावादीहरूले विजयको ताली बजाए । बैठक पुनः अगाडि बढ्यो ।

‘त्यसो भए कसलाई बनाउने त अध्यक्ष ?’

‘तपाईं नै भन्नोस् न !’

‘मेरो मामालाई बनाऊँ न त । मलाई धेरैचोटि मेजमानी ख्वाउनुभएको छ ।’

‘किन तपाईंको मामालाई ? उहाँ भन्दा त मेरा फुपाजुलाई अध्यक्ष बनाउनु बेस हुन्छ नि । कति चिटिक्क परेका सीङ छन्, पुच्छर पनि कस्तो चिल्लो छ ।’

‘होइन, मेरा भिनाजु योग्य हुनुहुन्छ ।’

‘कहाँ हुन्थ्यो ? मेरा ज्वाइँ जत्तिको उपयुक्त पात्र भेट्नै सकिंदैन । कस्तो वनै थर्कने गरी होक्काँ गर्नुहुन्छ ।’

सबैले पालैपालो आ–आफ्ना आफन्तको नाम प्रस्तुत गर्न थाले । फेरि कुरा मिलेन ।

कालीवनमा तीन दशकसम्म चलेको मांसाहारी व्यवस्था समाप्त पारेर एक युग अघि शाकाहारी व्यवस्थाको पुनःस्थापना गरिएको भए तापनि पुरानो व्यवस्थाका महारथीहरूलाई कुनै कारवाही गरिएको थिएन । न तिनको बानीबेहोरा सुधार्न नै कुनै कार्यक्रम चलाइएको थियो । बरु समय बित्दै जाँदा पशुपतिहरूले तिनलाई ससम्मान आफ्नो बथानमा हुल्न थालेका थिए । फलतः कुनै पनि पशुलाई दुःख नदिने, नमार्ने, एउटा पशुको मासु अर्काले नखाने, सबैलाई समान ठान्ने शाकाहारी सिद्धान्तका अनुयायीहरू पनि मांसाहारी सिद्धान्तमा दीक्षित भए । क्रमशः त्यसैमा उनीहरूको स्वाद बस्यो । अब त, कसैले मांसाहारमा प्रतिबन्ध लगाइदेला कि भन्ने पो उनीहरूलाई डर थियो । त्यसैले, पशु अधिकार आयोगको अध्यक्षमा आफ्ना नातागोतामध्ये कसैको नाममा सहमति नहुने हो भने बरु मांसाहारी व्यवस्थाकै महारथीलाई अध्यक्ष बनाऔं, विशुद्ध शाकाहारीलाई चाहिं कुनै हालतमा नबनाऔं भन्ने सहमतिमा सर्वपक्षीय पशुपतिहरू पुगे ।

जखमले पशुपतिले एउटा चितुवाको नाम अध्यक्षमा प्रस्तुत गर्यो।

तीखे पशुपतिले सुझाव तेस्र्यायो, ‘यो अलिक बढी बदनाम छ, बरु त्यो अर्को बूढो चितुवालाई अध्यक्ष बनाऔं न !’

जखमलेले भन्यो, ‘ठीक भन्नुभो । त्यसै गरौं । शाकाहारी व्यवस्थामा बूढो चितुवा जस्तो उपयोगी पशु अरू कोही हुनै सक्तैन । मांसाहारीको भलो बाहेक अरू थोक उसले सोच्नै सक्तैन । शाकाहारीहरूले आपत्ति जनाए भने गलितनखदन्त बूढाबाट के डर भनिदिउँला, भैहाल्छ ।’

अध्यक्षमा सर्वसम्मति भएपछि पानीमा खेल्ने जातबाट एउटा रजहाँस र घाँस खाने जातबाट एउटा गोरुलाई सदस्य बनाइयो । त्यसमा कसैले आपत्ति जनाएनन् ।

त्यसपछि जखमले पशुपतिले पशु अधिकारको पसल चलाउने एउटा भालुको नाम आयोगको सदस्यमा प्रस्तावित गर्यो । साहुजीलाई खुशी नपारे पशु अधिकारको व्यापारबाट पाइँदै आएको कमिशन गुम्ने डर जखमलेलाई थियो ।

‘त्यसो भए मेरो साहुजीलाई पनि सदस्य बनाउनुपर्छ । उसको व्यापार पनि त कम छैन नि ।’ तीखे पशुपतिले अर्को भालुको नाम तेस्र्यायो । कालीवनमा उसको ढलीमली त्यही साहुजीले दिने गरेको नजरानामा अडिएको थियो ।

दुवैको प्रस्तावमा दुवैले सौहार्दपूर्ण सहमति जनाए ।

‘अरू कसैलाई राख्नुपर्छ कि ?’ जखमले र तीखेले एकैचोटि एक अर्कालाई सोध्न पुगे र प्रश्न जुधेको देखेर आफैं हाँसे ।

‘पर्दैन । यति भए पुगिहाल्छ नि । कि कसो ?’ जखमलेले हात अघि बढायो ।

‘ठीक छ, पुग्यो ।’ तीखेले हात मिलायो ।

दुवैले रूखको हाँगामा चढेर पशु अधिकार आयोग गठन भएको घोषणा गरे ।

मांसाहारीहरूले आयोगको स्वागतमा नारा लगाउँदै जुलूस निकाले । शाकाहारीहरू भने डर र निराशाले लल्याकलुलुक देखिन्थे । उता, आयोगमा नवनियुक्त भालुहरू चाहिं आप्mनो निधारमा आफैं अबीर लगाएर त्यो अवस्थालाई पनि आफ्नै व्यापार बढाउने अवसरको रूपमा उपयोग गर्न तँछाडमछाड गर्दैथिए । उनीहरू शाकाहारीहरूलाई भन्दैथिए, ‘बल्ल अब कालीवनमा पशु अधिकारको निर्बाध उपभोग गर्न पाइने वातावरण तयार भयो । हाम्रो पसलमा पाल्नोस् न, तपाईंहरूलाई चाहिए जति पशु अधिकार हामी उपलब्ध गराइहाल्छौं नि !’

चितुवा नियुक्ति उत्तरकाण्ड

पशुपतिहरूले सर्वसम्मतिबाट चितुवालाई पशु अधिकार आयोगको अध्यक्ष नियुक्त गरेपछि पशु–प्रतिनिधिहरूले चर्को विरोध शुरू गरे । प्रतिनिधि सभामा तिनको आवाज घन्कन थाल्यो : मांसाहारी व्यवस्थाको भाइनाइकेलाई पशु अधिकारको जिम्वाल बनाउन पाइँदैन । यो शाकाहारी व्यवस्थाकै अपमान हो । हाम्रा बाबुबाजेहरूको घिच्रो निमोठ्ने पशुपिशाचहरूलाई सम्मान होइन सजाय दिइयोस् !

अध्यक्ष बन्न पुगेको चितुवा मांसाहारी व्यवस्था छँदासम्म शाकाहारीहरूको घाँटी निमोठ्न नामूद थियो । भोकले च्यापेपछि मात्र आहारा खोज्न हिंड्ने पुरानो परिपाटीको ठाउँमा जहिले मन लाग्यो तहिले मांसाहारीहरूले शाकाहारीको शिकार गर्न पाउने कानून उसैले बनाएको थियो । त्यही कानूनको चपेटामा परेर थुप्रै शाकाहारीहरू शहीद भएका थिए । ऊ अहिले मासु नै चपाउन नसक्ने गलितनखदन्त बूढो भइसकेको भए पनि आफ्नो जवानी र जमानाको रसरंग सम्झेर मुख मिठ्याइरहन्थ्यो र बेलाबखत बर्बराइरहन्थ्यो— यो जैरे शाकाहारी व्यवस्थाको उछित्तै होस् !

यिनै सब कारणले प्रतिनिधि सभामा चितुवाको विरोध भएको थियो भने जंगलका गौंडा–गौंडामा अरू पशुहरूले त्यसभन्दा अगावै विरोधको आवाज बुलन्द गर्न थालिसकेका थिए । एक हप्ता पनि नबित्दै जंगलका प्रत्येक कुना, कोण र दिशाबाट चितुवा नियुक्तिको विरोध बाहेक केही सुनिन छोड्यो । साथसाथै, हरेक वर्ग, जात र समुदायका पशुहरूले चितुवाका नियुक्तिदाताहरूलाई पनि जघन्य अपराधीका रूपमा आरोपित गर्न थाले ।

विरोधको यो मुस्लोबाट आफ्नो पक्षलाई जोगाउन जखमले पशुपतिको नन्दीले रुन्चे वक्तव्य जारी ग¥यो, ‘चितुवा नियुक्त गर्ने समितिमा हाम्रा पशुपति अल्पमतमा परेका थिए। उनले त शाकाहारी जन्तुलाई नै अध्यक्ष बनाउन मनमनै विचार गरेका हुन्, तर अरूको त्यस्तो मनसाय नभएका कारण चितुवाज्यूलाई उक्त पदमा सर्वसम्मतिबाट आसीन गराइएको हो ।’ उसको आशय स्पष्ट थियो— यो काम अपराधै हो, तर हामी धर्मफराक छौं ।

वक्तव्य लुरे भए पनि त्यसले उत्पन्न गरेको प्रतिक्रिया तगडा थियो । तीखे पशुपतिको नन्दीले होक्काँ गरिहाल्यो, ‘जखमले पशुपति अल्पमतमा परे भन्न पाइँदैन । त्यस्तो वक्तव्यले हाम्रा तिखे पशुपतिमाथि ठाडो र निकृष्ट लाञ्छना लगाएको छ ।’ अनि, आफ्नो नन्दीको डुक्राइले चित्त नबुझेर स्वयं तीखे पशुपति डमरु बजाउँदै चिच्याउन थाल्यो, ‘सर्वसम्मतिबाट निर्णय गरिसकेपछि अल्पमत र बहुमतको कुरा गर्नु भनेको मेरो सीङ भ्यागुताले भाँचिदियो भनेर खरायो रोएजस्तै हो ।’ उसलाई अझ जोश चढेछ, भनिहाल्यो, ‘चितुवालाई अध्यक्ष बनाउनुपर्छ भनेर प्रस्ताव ल्याएकै त्यो जखमलेले हो, अहिले आएर बाह्र–सत्ताइस कुरा गर्ने ?’

वास्तविकता चाहिं के थियो भने, तीखेहरू जन्मँदै बिरालाको दाँत लिएर आएका थिए । उनीहरूको बाल्यकाल जंगलमा चरिरहेका र सुतिरहेका जनावरलाई वर्गशत्रु घोषित गर्दै तिनको घाँटी निमोठेर बितेको थियो । समय बित्दै जाँदा त्यसरी काम नचल्ने देखेर उनीहरूले आफ्ना दाँत र बानीबेहोराहरू ढाक्न शाकाहारीको मखुण्डो लगाउन थालेका थिए । तर, बाहिर बाहिर शाकाहारी झैं देखिए पनि शाकाहारीको ‘पशुतन्त्र’ मा तिनको विश्वास थिएन । उनीहरूको अन्तिम लक्ष्य त ‘पशुवाद’ थियो, जसमा आम पशुहरूको नाममा तीखेहरूको तानाशाही चल्दथ्यो । शाकाहारी पशुतन्त्रलाई त्यही पशुवादी व्यवस्था प्राप्तिका निम्ति उपयोग गर्न मात्र तिनले स्वीकारेका थिए । ‘रूप’ मा जे जस्तो बताउन खोजिए पनि ‘सार’ मा उनीहरूको पशुवाद र पहिलेको मांसाहारी व्यवस्थामा केही फरक थिएन । त्यसैले तीखेहरू कुनै शाकाहारी जन्तु पशु अधिकार आयोगको अध्यक्ष नहोस् भन्ने चाहन्थे र स्वभावतः उनीहरू चितुवाको पक्षमा दिलोज्यानले लागेका थिए । स्यालबुद्धि सापट लिएर तिनले यस्तो जाल रचे कि तीखेहरू नचिढिउन् भन्ने एकसूत्रीय ध्याउन्नमा रहेको जखमले पशुपति, जो शाकाहारीको नेता थियो, आफैं चितुवाको नाम प्रस्तावित गर्न बाध्य भयो । आफैंले सृजना गरेको विवशताको कारागारमा ऊ कसरी फसेको थियो भने, वास्तविकताको उद्घाटन गर्न पनि सक्तैनथ्यो । कारण उही थियो— तीखेहरू भड्किने डर ।

जखमले र तीखेहरूका यी वक्तव्यबाजी र डुक्राइहरूका बीच सबैभन्दा रमाइलो पक्ष चाहिं के भइदियो भने, दुवैका आ–आफ्ना भालुहरू, जसलाई तिनले पशु अधिकार आयोगको सदस्य नियुक्त गरेका थिए, अरू सबैलाई उछिनेर चितुवाको चाकरीमा हाजिर भइसकेका थिए । व्यापारीहरूको देश, राष्ट्रियता र सिद्धान्त हुँदैन भन्ने भनाइलाई ती पशु अधिकारका व्यापारीहरूले यसरी फेरि एक पटक प्रमाणित गरिदिएका थिए ।

हप्ता बित्दै गए, तर विरोध घटेन । न वक्तव्यबाजी मत्थर भयो, न होक्काँ–डुक्राइहरू नै शिथिल भए । सबैका कुरा उहिल्यै सकिइसकेका भए पनि उनीहरू त्यसैलाई जोडतोडले दोहो¥याइरहेका थिए । आफू पछि परिएला र अर्काले जित्ला भन्ने डर र चिन्ता मात्र बाँकी थियो ।

एक रात एउटा भोजमा जखमले र तीखेको भेट भयो । तीखेले जखमलेलाई एउटा कुनामा लग्यो र आफ्नो आशंका जाहेर ग¥यो, ‘विरोध धेरै आयो भनेर चितुवाज्यूलाई अध्यक्षबाट त हटाउनुहुन्न होला नि  ?’ जखमलेले उसलाई आश्वस्त गरायो, ‘पशुतन्त्रमा कराउन दिनुपर्छ । कराउँछन् कराउँछन्, थाक्छन् र चूप लाग्छन् । यो जंगलमा राज गर्ने त आखिर तपाईं–हामीले नै हो नि !’

दुवैले मन्द मुस्कानका साथ हात मिलाए । भोलिपल्ट जंगलका भित्ते पत्रिकाहरूमा चितुवा नियुक्ति काण्डको पक्ष–विपक्षमा झन् चर्का सम्पादकीयहरू छापिएका थिए । अर्थात् पशुतन्त्र र जंगलराज दुवैको सहअस्तित्व जीवन्त थियो । चितुवाको वरद छत्रछायामा शाकाहारी व्यवस्थाको पशु अधिकारले नयाँ युगमा प्रवेश गर्ने कुरामा कसैलाई शंका थिएन ।

सत्याग्रह, २०५७ जेठ १६ र २३ गते सोमवार

         

एउटा पाठकीय अभिमत, जस्ताको तस्तै : 

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस व्यंग्यमा निम्न शब्दहरूबाट निम्न बमोजिम अर्थ बुझ्नु उचित हुने देखिन्छ — 

पशु अधिकार = मानव अधिकार ।

पशु = हामी (जनता) ।

पशुतन्त्र = प्रजातन्त्र ।

पशुवाद = साम्यवाद ।

पशुपति = पार्टी नेता ।

नन्दी = भाइनेता ।

मांसाहारी व्यवस्था = पञ्चायत ।

शाकाहारी व्यवस्था = बहुदलीय ।     

तीखे = कम्युनिस्ट (प्रतिपक्ष) ।

जखमले = कांग्रेस (सत्तासीन) ।

भालु-साहुजी = मानव अधिकारको पसल चलाउने गैससवाला ।

काका = बहुदलीय संविधानका लेखक ।

चितुवा = पञ्चायतका सम्माननीय खत्री श्रीमान ।