भगिराज इङ्नामलाई मदन र भैरवबहादुर थापालाई जगदम्बाश्री पुरस्कार

काठमाडौँ । वर्ष २०७७ को मदन पुरस्कारबाट ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह’ का लेखक अध्येता भगिराज इङ्नाम सम्मानित हुने भएका छन् ।
यस्तै, जगदम्बाश्रीबाट नृत्यशास्त्री भैरवबहादुर थापालाई सम्मान गर्ने निर्णय भएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दिक्षितले बताए ।

विहीबार बसेको गुठीको साधारणसभाले ७ दशकदेखि नेपाली नृत्य विधाको अध्ययन अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान मार्फत नृत्य क्षेत्रको उन्नयनमा समर्पित रहेका थापालाई जगदम्बा श्री समर्पित गर्ने निर्णय गरिएको गुठीले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मदन पुरस्कारका लागि गुठीमा २२२ पुस्तक प्राप्त भएकोमा ९ वटा श्रेष्ठसूचीमा चयन भएका थिए । जसमध्ये दस्ताबेजले मदन पुरस्कार पाएको हो ।
श्रेष्ठसूचीमा लिम्बूवानको ऐतिहासिक दस्तावेज सग्र्रहका साथै गिरि श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्पग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान, प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फूलाङ्गे, केशव दाहालको मोक्षभूमि र जेसन कुँवरको रमिते परेका थिए ।

दुवै पुरस्कारको राशी चार लाख नगदसहित सम्मान पत्र छ । गुठीले वर्ष २०१३ देखि मदन पुरस्कार र वर्ष २०४५ देखि जगदम्बा–श्री सम्मान प्रदान गर्दै आएको छ ।