एनआरएनको खस्किएको प्रतिष्ठा माथि उठाउन विधि र पारदर्शीतामा ध्यान दिनेछुः कुल आचार्य

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)को आसन्न निर्वाचनमा अध्यक्षका प्रत्याशी कुल आचार्यले ‘पद्धती र पारदर्शिता, समावेशी एनआरएन हाम्रो प्रतिबद्धता’ नारा अघि सारेका छन् । 

एनआरएनका सल्लाहकार तथा पूर्व उपाध्यक्ष आचार्यले अध्यक्ष निर्वाचित भएमा संघलाई सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने संकल्प गरेका छन् । 
‘संघलाई विधिसम्मत र पारदर्शी रुपमा संचालन गरी संघको खस्कीएको छवी र प्रतिष्ठा माथि उठाउने छु’, उनले भने । 

एनआरएनको नीति र नेतृत्व चयन गर्ने उत्सवको यो प्रकृयामा सवैको सहयोग, समर्थन र आशिर्वादले आफू अध्यक्ष निर्वाचित हुनेमा विश्वस्त भएको पनि उनले बताए । 
काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उनले संघमा आर्थिक अनियमितता र अपादर्शीताको समस्या देखिएको स्पष्ट गर्दै आर्थिक अनियमितता गर्नेमाथि छानविन गरी दोषी उपर कार्वाही प्रकृया अघि बढाउन परराष्ट्र मन्त्रालय र सम्बन्धीत पक्षसँग माग पनि गरे । 

‘म अध्यक्ष निर्वाचित भएपछि संघमा आर्थिक अनियमितता हुन दिने छैन, पारदर्शीता र समावेशीता मेरो मूल ध्येय हुनेछ’, उनले भने । एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीको साझा संस्था बनाउने आफ्नो अभियान भएकाले संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिने प्रतिवद्धता पनि उनले व्यक्त गरे । 

‘पैतृक सम्पतिको अधिकार, राहदानी, तेश्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने छु’, उनले भने । 
सदस्य संख्या पाँच लाख पुर्याउने
आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पञ्जीकृत सदस्य संख्या पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषद्हरुको संख्या कम्तीमा एक सय पुर्याउने योजना अघि सारेका छन् । 

हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरु निष्कृय छन् भने संघका पञ्जीकृत सदस्यको संख्या एक लाख हाराहारी छ । गैरआवासीय नेपालीलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसलाई पनि आफ्नो अभियानमा जोड्ने आचार्यको योजना छ ।  

थाइल्याण्ड, म्यानमारलगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन’ (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने पनि उनले बताए । 
पर्वतको धाइरिङमा जन्मेका आचार्य हाल बेलायतमा बसोबास गर्दै व्यवसाय गर्छन् । लण्डनका स्थापित व्यवसायी र समाजसेवी आचार्य करिव दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय छन् । 

आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने  र विशेषतः मध्यपूर्व, मलेसियालगायतका मुलुकमा काम गर्ने नेपालीको सुरक्षामा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । आफ्ना कम्पनीहरुमा करिब सत्तरी प्रतिशत रोजगारी नेपालीलाई नै दिएका आचार्यले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने अठोट गरे । 

विदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै संसारभरि नेपालको पर्यटन प्रवद्र्धनका लागि अभियान चलाउने योजना बनाएका आचार्यले प्रवासी नेपालीको खेलकुदप्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने घोषणा पनि गरे । 

नेपालमा गैरआवासीय नेपालीको मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानीका लागि पनि आफूले पहल गर्ने बताउँदै आचार्यले भने, ‘विदेशी लगानी भित्रयाउन केही कानुनी जटिलता भएकाले  त्यसलाई सुल्झाउनतर्फ मेरो ध्यान केन्द्रित हुनेछ ।’

संघका अग्रज अभियन्ताको सम्मान गर्दै संघको अभियानमा नयाँ पुस्तालाई सक्रिय बनाउने, युवा र महिलालाई पहिलो प्राथमिकता दिने र संघलाई राजनीतिक रुपमा नभई सेवा भावका आधारमा सञ्चालन गर्ने उनको अठोट छ । 

आचार्यको उम्मेदवारीलाई संघका बहुसंख्यक राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले समर्थन जनाएका छन् । एनसीसी युकेबाट संघको यात्रा थालेका आचार्यले एनआरएनए यूकेको अध्यक्ष, आइसीसी सदस्य, यूरोप क्षेत्रको संयोजक, आइसीसी उपाध्यक्ष र सल्लाहकारको भूमिकामा खरो उत्रिसकेका छन् । 
आचार्यका भावी योजना
पैतृक सम्पतिको अधिकार, राहदानी तथा तेश्रो पुस्तापछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्ने ।

म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई पिपुल अफ नेपाली अरिजिन (पिएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्ने ।

संघका पञ्जीकृत सदस्यहरुको संख्या ५ लाख पुर्याउने ।

–राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या १०० पुर्याउने ।

नेपाल सरकार तथा निजी क्षेत्रसँगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गरिने ।

बढीभन्दा बढी मुलुकहरुसंग द्वीपक्षीय लगानी प्रवद्र्धन तथा परियोजना सहमति एवं दोहोरो करमुक्तिजस्ता सम्झौता गर्न नेपाल सरकारसँग सहकार्य गर्न संस्थागत पहल गरिने ।

खाड़ी राष्ट्रमा रहेका नेपालीको सानो सानो पूँजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानी अवधारणा अगाडि बढाइने । 

कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गरिने । 

एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियतदरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरिने ।

विदेशमा हुर्की रहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न अनलाइन कक्षाहरु संचालन गरिने । 

एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गरिने छ ।