नेपाललाई ऐतिहासिक सफलता, बंगलादेशसंग बराबरी खेल्दै फाइनलमा

नेपालले दक्षिण एसियाली फुटबल(साफ)मा ऐतिहासिक जीत हात पारेको छ। समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै नेपाल पहिलोपल्ट फाइनलमा पुगेको हो। माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा नेपाल पहिलो हाफमै पछि परेको थियो। 

बगंलादेशले खेलको आठौं मिनेटमा अग्रता बनाएको थियो। बंगलादेशका सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। 

खेलको ८८ औँ मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। ८६ औं मिनेटमा  अन्जनलाई बंगलादेशी खेलाडीले पेनाल्टी क्षेत्रभित्र लडाएपछि नेपालले पेनाल्टी पाएको थियो। त्यसमा गोल गर्दै अन्जनले नेपाललाई ऐतिहासिक सफलता दिलाए।

बंगलादेशलाई बराबरीमा रोकेसँगै नेपाल ७ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो।

दक्षिण एसियाली क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगितामा हालसम्म नेपाल सेमिफाइनलभन्दा अघि बढ्न सकेको थिएन।

यसअघि नेपाल ५ पटक साफको सेमिफाइनलबाटै घर फर्किएको थियो। यसअघिको संस्करणमा पनि २०१८ मा नेपाल माल्दिभ्ससँग ३-० ले सेमिफाइनलमा पराजित हुँदै बाहिरिएको थियो। 

त्यसअघि सन् २०१३,२०११, १९९५ र १९९९ मा  नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो।

नेपालले अब उपाधिका लागि ३० गते भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्नेछ। आजै हुने दोस्रो खेलमा भारत र माल्दिभ्स  भिड्दैछन्।

भारतलाई स्पष्ट जितको आवश्यक्ता हुादा माल्दिभ्सलाई बराबरी नै पर्याप्त हुनेछ।