फाइनलअघि प्रशिक्षक अल्मुताइरीलाई प्रतिबन्ध, नेपाललाई झट्का

आज शनिबार भारतविरुद्ध हुने साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गुमाउने भएका छन्। साफले लिग चरणका दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै अलमुताईरीमाथि फाइनल खेलमा प्रतिबन्ध लगाएको हो। 

प्रशिक्षक अलमुताइरीले पत्रकार सम्मेलन गर्दै साफले नेपालले साफको उपाधि जित्छ भनेर व्यक्तिगत रिसीवीका कारण आफुलाई प्रतिबन्ध लगाएको बताएका छन्। उनले भने, ‘यो अब्दुल्लाहमाथि लगाएको प्रतिबन्ध हैन, नेपालको मुख्य प्रशिक्षक र फुटबलमाथि लागेको प्रतिबन्ध हो।’

नियमावलीमा उल्लेख नभएको कारण देखाउँदै आफूलाई कारवाही गरेकोमा अब्दुल्लाहले दुख व्यक्त गरेका छन उनले भने, मलाई निकै दुख लागेको छ, साफले मलाई किन निशानामा राखेको छ। 

प्रशिक्षक अलमुताइरीले साफले गरेको अन्यायविरुद्ध आफू कोर्ट अफ आर्बिट्रेसन इन स्पोट्र्स (कास) मा समेत जाने उल्लेख गरे। भारतका प्रशिक्षक उपस्थित नहुने भएपछि मलाई पनि कारवाही गरिएको हो। 

साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख छ। तर खेलमा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा छ। तर साफले टिम व्यवस्थापक मधुसुदन उपाध्यायलाई लाई पत्र लेख्दै अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड पाएको कारण फाइनल खेलमा प्रतिबन्ध लागेको पत्राचार गरेको छ। 

साफको नियमावलीमा भने अफिसियललाई दुई फरक खेलको पहेंलो कार्डमा प्रतिबन्ध लाग्ने उल्लेख गरिएको छैन। अलमुताइरीले लिग चरणमा श्रीलंका र बंगलादेशविरुद्धको खेलमा पहेंलो कार्ड पाएका थिए। 

प्रतियोगिताको नियम अनुसार नेपालका फरवार्ड अन्जन विष्ट र भारतका प्रशिक्षक इगोर स्टिमाचले प्रतिबन्ध बेहोर्नेछन्। भारतका प्रशिक्षक स्टिमाचले माल्दिभ्सविरुद्ध भएको खेलमा दुई पहेंलोसहित रातो कार्ड नै पाएका थिए।  तर अलमुताइरीले फरक खेलमा पहेलो कार्ड पाएको भन्दै प्रतिबन्ध लागाएको हो। यो प्रतिबन्ध सँगै दुवै देशका प्रशिक्षक टोलीको ड्रेसिङ रुममा पनि जान पाउनेछैनन्। 

एएफसीको अनुशासन नियमावलीले कुनैपनि व्यक्तिले एक प्रतियोगिताको दुई खेलमा पहेंलो कार्ड पाउँछ भने अर्को खेल गुमाउने लेखेको छ। तर नियमावलीमा प्रतियोगिताको आफ्नै नियम छ भने त्यसमा परिवर्तन गर्न सकिने उल्लेख छ।