आज पनि वर्षाको सम्भावना, यस्तो छ तीन दिनको मौसम

काठमाडौं, कात्तिक ३ : आज पनि देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश स्थानमा पानी पर्ने सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली भेगमा हिमपात हुनसक्ने महाशाखाले अनुमान छ।

महाशाखाका अनुसार भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव केही दिनदेखि मौसम बदली भई वर्षा भइरहेको छ। आज बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।

त्यस्तै, प्रदेश १,  बागमती र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

प्रदेश १ का थोरै र प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ।

आज राति प्रदेश १ र  प्रदेश २ का केही स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक दुई स्थानमा भने भीषण वर्षाको समेत सम्भावना रहेको छ।

बिहीबार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानमा साथै बाँकी प्रदेशका थोरै स्थान हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शुक्रबार पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।