कानुन व्यवसायीलाई वार्तामा आउन प्रधानन्यायाधीशको आह्वान(विज्ञप्तिसहित)

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत कानुन व्यवसायीलाई संवादमा आउन आग्रह गरेका छन् । सोमबार विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश जबराले हाल न्यायालयमा देखिएको गतिरोधलाई अन्त्य गर्न नेपाल बार र सर्वोच्च बेन्चबीच संवाद हुनुपर्ने बताएका हुन् ।
उनले सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायालय सुधारका लागि तयार गरेको प्रतिवेदन र सुझाव कार्यान्वयन गर्न आफू प्रतिबद्ध भएको पनि विज्ञप्तिमार्फत जनाएका छन् । उनले जनताले विश्वासको शीरमा राख्दै आएको न्यायपालिकाको गरिमा र सम्मानलाई जोगाउनु न्यायपालिकाभित्रका सबै अवयवहरुको साझा दायित्व रहेको पनि प्रस्ट पारेका छन् । विज्ञप्तिमा भनिएको छ,‘नेपालको प्रधानन्यायाधीशका रुपमा मेरो अग्रसरता यस प्रक्रियामा जति आवश्यक छ, त्यतिकै अग्रसरता बार एशोसिएशन र यसका ईकाइहरुबाट पनि अपेक्षा गरिएको हुन्छ भन्नु अतिशयोक्ति हुँदैन । न्यायको एकै रथका दुई पाङ्ग्राका रुपमा रहेका बार र बेन्चले आफ्नो दायित्व मनन् गरी न्यायको रथलाई फेरि जनताको सेवामा निर्वाध गुडाइरहनुपर्ने चुनौती हाम्रा सामु खडा भएको छ ।’
न्यायपालिकाको इतिहासमै कहिल्यै नहुने वा हुन नपर्ने घटनाहरूको कारणबाट चिनिने पनि उल्लेख गरेका छन् । ‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्दै संविधानसभाबाट जारी नेपालको संविधानको सफल कार्यान्वयन गर्न राज्यका सबै अंगसहित राज्यका सम्पूर्ण निकायहरु एकतावद्ध हुनुपर्ने खाँचो रहेकै समयमा संविधानसभाद्वारा स्थापना भएको सर्वोच्च न्यायिक अंग र यसका प्रमुखमाथि एकपक्षीय ढंगले निरन्तर रुपमा अत्यन्तै तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाउने काम भइरहनु अत्यन्त चिन्ताजनक विषय हो’ विज्ञप्तिमा भनिएको छ ।
साभारः drishyatv.com


