हेर्दा हुन्छ, नहेर्दा केही बिग्रदैन, सलमान खानको ‘अन्तिम’

सलमान खानको हाल प्रदर्शीत चलचित्र ‘अन्तिम’ले बलिउडमा पुरानै भूमाफिया र प्रहरीविचको भिडन्तवाला कथालाई निरन्तरता दिएको छ । कथामा नौलोपन केही छैन, पुराना हिन्दी चलचित्रकै  फर्मुला निरन्तरता हो । 

मराठी चलचित्र ‘मुल्शी प्याटर्न’का रिमेक यो चलचित्र एउटा सानो शहरको युवा राहुल ( आयुष शर्मा)को कथा हो, जुन पुनाको सबैभन्दा खतरनाक भूमाफियामध्ये एक बन्न पुग्छ । तर उसका अनेक दुश्मन हुन्छन् र कानून तोडन पनि उ पछि पर्दैन । राहुल आफ्ना गरिब पिता सत्या (सचिन खेडेकर)लाई बचाउन दौडन्छन्, जसलाई भूमाफियाहरुले कुटीरहेका हुन्छन् । भूमाफियाले उनको पुस्तौनी जग्गा हत्याएका हुन्छन् । अन्ततः राहुल एउटा बेरोजगार युवाबाट खतरनाक ग्यांगस्टर बन्छ, जुन ‘सत्या’देखि ‘वास्तव’जस्ता चलचित्रमा यसअघि नै देखाइसकिएको छ ।

यसपछि उसलाई पुनाका सबैभन्दा प्रभावशाली गुन्डा नान्या भाई (उपेन्द्र लिमये)ले आफ्नो साथमा काम गराउँछ । अर्थात यो कथा पनि ‘सत्या’ र ‘वास्तव’सँग मिल्छ । यसविच प्रहरी अधिकारी राजवीर सिंह (सलमान खान) समस्या बनेर खडा हुन्छन्, जसलाई थाहा हुन्छ कि शहरका सारा अपराधलाई कसरी खतम गर्ने भनेर । यो पनि बिगतका अन्य बलिउड चलचित्रकै निरन्तरता हो । 

निर्देशक महेश मांजरेकरले एउटा ग्यांस्टरको कथा प्रस्तुत गर्न खोजेका हुन् । पुरानै पाराको कथामा बस उनले मनोरंजक मसाला भरेका छन् । तैपनि एक्शनको कमी खटकिन्छ । एक्शनभन्दा बढी संवादको बोझीलो लम्बेतान सिलसिला छ । हो, गीत चाहिँ उम्दा छन् । 
सलमान खानको ‘दबंग’मार्का भूमिका पुनः पर्दामा आएको छ । यसपाली उनी निडर सरदारको भूमिकामा छन् । सलमान खानलाई एउटा प्रहरी अधिकारीको भूमिका सुहाउँछ पनि, सजिलो पनि हुन्छ । आफ्नो सर्ट च्यात्नु, फ्याउरे गुन्डाहरुलाई पिटनु त उनको स्टाइल नै हो । यसमा नौलो चाहिँ केही छैन । 

आयुष शर्माले आफ्नो बडी प्रदर्शन गरेका छन् । उनले पहिलो चलचित्रपछि लामो समय दिएका छन् । चलचित्रमा आयुषको महिमा मकवानासँग लभ केमेस्ट्री पनि देखाइएको छ, निरस भएकाले यसले चलचित्रको मजा बिगार्छ । 

जे होस्, सलमान खानको फाइट, प्रहरीको भूमिका, भूमाफियासँगको द्वन्द्व र गुन्डा र नेताविचको साँठगाँठवाला चलचित्र मनपराउनेहरुलाई ‘अन्तिम’ले टिकट खर्च उठाउला, तर चलचित्रमा केही नयाँ खोज्नेहरुले चाहिँ समयको बर्बाद नगर्दा हुन्छ । 

साभार: drishyatv.com