राजकुमार चेपाङको हत्यामा संलग्न सैनिकलाई जन्मकैदको सजाय

चितवन । चितवनका राजकुमार चेपाङको कुटपिटपछि मृत्यु प्रकरणमा उच्च अदालत पाटनको हेटौंडा इजलासले एक सैनिकलाई जन्मकैदको फैसला गरेको छ । न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गरेको हो । जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले आइतबार हुद्दा बुढामाथि जन्मकैदको फैसला सुनाएको हो ।

जिल्ला अदालत चितवनले बुढालाई ९ महिना कैद र ९ हजार जरिवाना हुने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन परेको थियो । चितवन राष्ट्रिय निकुञ्जको जंगलमा घुँगी टिप्न गएका बेला चेपाङलाई सैनिकहरुले कुटपिट गरेका थिए ।

२४ वर्षीय चेपाङसहितको टोलीलाई निकुञ्जको लिगलिगो पोष्ट नजिकैको ज्यूडी खोलामा गएको बेला सैनिक टोलीले उनी नियन्त्रणमा लिएको थियो । त्यसपछि सैनिकहरुले ब्यारेकमा ल्याई कुटपिट गरेका थिए । कुटपिटपछि गम्भीर घाइते भएका चेपाङको ८ दिनपछि उपचारका क्रममा मृत्यु भएको थियो ।